काठमाडौं। भदौ ३१ अर्थात् मंगलबारसम्मको तथ्याङ्कमा जेनजी आन्दोलनका कारण भएको क्षतिमा बीमा माग दाबी करिब २१ अर्ब पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार देशभरका निर्जीवन बीमा कम्पनीमा प्राप्त भएको माग दाबीको रकम २० अर्ब ७० करोड ३८ लाख रहेको हो। हाल देशमा १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा गरी कुल १८ वटा कम्पनी छन्। ती कम्पनीमध्ये सबैभन्दा धेरै माग दाबी दि ओरियन्टल इन्स्योरेन्समा परेको छ ।
४० वटा माग दाबी निवेदनबाट कम्पनीसँग ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा दाबी गरिएको छ। यो हिल्टन होटेलको माग दाबी समेतको हो । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ अर्ब ९३ करोडको माग दाबी परेको छ । भाटभटेनीका अधिकांश बीमा यही इन्स्योरेन्समार्फत् भएको बताइन्छ । सिद्धार्थमा कुल २ सय ५८ वटा निवेदन परेको छ।
शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ माग दाबी सहित ३ सय ६६ वटा निवेदन परेका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ बराबरको २४ वटा बीमा दाबीको निवेदन परेको छ ।
त्यस्तै सगरमाथा लुम्बिनीमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ बराबरको २ सय ३३ वटा दाबी परेका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सरमा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ माग दाबी सहित १९६ वटा आवेदन पर्दा र नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बराबरको ४० वटा निवेदन परेको बीमा प्राधिकरणको तथ्याङ्क छ ।
इन्स्योरेन्स कम्पनीमध्ये नेशनल इन्स्योरेन्समा सबैभन्दा कम ६ करोड रुपैयाँ बराबरको माग दाबी छ । उक्त कम्पनीमा १९ वटा आवेदन प्राप्त भएको छ । माइक्रो इन्स्योरेन्समध्ये प्रोएक्टिभ इन्स्योरेन्समा १ करोड १३ लाखको दाबी पर्दा अन्य कम्पनीमा करोडभन्दा कम दाबी परेको बीमा प्राधिकरणले जनाएको छ ।
गत भदौ २३ र २४ गते काठमाडौँ लगायत देशभर जेनजी पुस्ताका युवाहरूले बेथितिविरूद्ध आन्दोलन गरेका थिए । सो क्रममा सार्वजनिक तथा निजी संरचनाहरूमा आगजनी तथा तोडफोड गरिएको थियो ।