काठमाडौं । २०७५ साल देखि पशुपति क्षेत्र बिकास कोषको मातहतमा रहि पशुपति मन्दिर सरसफाइमा कार्यरत २ जना सरसफाइ सुपरिवेक्षक सहित ४० जना श्रमिकलाई नियमित रूपमा काममा लगाउने क्रममा २०८० असार १ गतेदेखि लागुहुने गरि पशुपति क्षेत्र बिकास कोष प्रशासनले प्रत्येक श्रमिक संग नागरिकता, ब्यक्तिगत स्थायी लेखा नम्बर र बिकास कोषको फाराम सहित ब्यक्तिगत निवेदनको आधारमा श्रमिकलाई कोषको परिचयपत्र सहित काममा लगाएको थियो ।
२०८० असार महिना देखि पशुपति क्षेत्र बिकास कोषले आफ्नो बैंक खाता मार्फत श्रमिकको मासिक पारिश्रमिक भुक्तानी गर्न थालेको थियो । सोही क्रममा ४० जना श्रमिक मध्ये महेश्वर राजवंशी , सन्तोष कार्की र तारा लामालाई मात्र नियुक्त पत्र दिए पछि बाकी ३७ जना श्रमिकहरूले २०८० असोज ३० गते कोषमा ८९५ दर्ता नम्बर रहेको संयुक्त निवेदन दिएकोमा कोष प्रशासनले निवेदनको सुनुवाइ नगरे पश्चात् मिति २०८० माघ २९ गते श्रम तथा ब्यवसायजन्य सुरक्षा बिभाग मीनभवन काठमाडौंमा दर्ता नम्बर २२४७ मा नियमित रोजगारीको रोजगार सम्झौता दिलाई पाउ भनी सामुहिक निवेदन दर्ता भएको थियो ।
श्रम बिभागमा २०८० चैत ६ गते र २०८१ बैशाख २७ गते कोष प्रशासन र श्रमिक बिच भएको वार्ता भएको थियोे । २०८१ जेठ १८ गते कोष प्रशासन प्रमुख रेवतीरमण अधिकारीको आदेश भन्दै सफाई नाइके थानेश्वर रिजाल, सन्तोष कार्की र महेश्वर राजवंशीले श्रमिकलाई पशुपति मन्दिर परिसरमा काम गरिरहेको अबस्थामा पशुपति क्षेत्र बिकास कोषको परिचयपत्र खोस्न आएकोमा आफूहरूले परिचयपत्र फिर्ता माग्न पत्र चाहिन्छ भने पछि नाइके थानेश्वर रिजाल फर्केका थिए ।
मिति २०८१ साउन २१ गते श्रम बिभागको दर्ता नम्बर २८४ मा पशुपति क्षेत्र बिकास कोषको तर्फबाट उपनिर्देशक रेवति रमण अधिकारीले हस्ताक्षर गरेको पत्रमा निवेदकहरू कोषमा कार्यरत श्रमिक भएको स्वीकार गर्दै २०८१ असार मसान्तसम्म दिनुपर्ने पारिश्रमिक रकम कोषको खाताबाट निवेदनहरूको खातामा जम्मा गरिएको पत्र दर्ता भएको थियो ।
नियमितरूपमा कार्यरत ३७ जना श्रमिकलाई अचानक खुकुरी नेपाल नामक कम्पनीको नामबाट २०८१ जेठ र असारको तलब बैंक खातामा आए पछि श्रमिकहरू २०८१ भदौ १२ गते श्रम तथा रोजगार कार्यालय काठमाडौंमा दर्ता नम्बर ६६२ मा पारिश्रमिक तथा सेवा सुविधाको रकम दिलाई पाउ भनी निवेदन दर्ता भएको थियो ।
त्यस पछि कोष प्रशासनले विभिन्न माध्यमबाट श्रमिक आपूर्तिकर्ता मार्फत रोजगार सम्झौता गर्न दवाब दिने काम भयो ।
मिति २०८१ भदौ २६ गते श्रमिकको निवेदनमा निर्णय गर्दै निवेदनहरूलाई मुख्य रोजगारदाता पशुपति क्षेत्र विकास कोष वा रोजगारदाता श्रमिक आपूर्तिकर्ता मार्फत काममा लगाउदा श्रम ऐन २०७४ को दफा ११ बमोजिम रोजगार सम्झौता गरेरमात्र काममा लगाउने निर्णय भएको थियोे ।
बिभागले गरेको अस्पष्ट निर्णयलाई वदर गरि पशुपति क्षेत्र बिकास कोषलाई नियमित रोजगारीको रोजगार सम्झौता गरि काममा लगाउने निर्णय गरि पाउ भनी २०८१ असोज ११ गते श्रम अदालत भक्तपुरमा 081-LA-0063 श्रमिकहरूको तर्फबाट पुनरावेदन दर्ता भएको थियो ।
२०८१ कार्तिक ३० गते कार्यकारी निर्देशक सुवासचन्द्र जोशीको निर्देशन भन्दै सरसफाइ नाइके महेश्वर राजवंशीले खाली कागजमा हस्ताक्षर गर्न भनेकाले श्रमिकहरूले कागज नपढी हस्ताक्षर नगर्ने अडान लिए पछि पुन सरसफाइ नाइके महेश्वर राजवंशी र सन्तोष कार्कीले खुकुरी नेपाल नामक कम्पनीको फाराममा हस्ताक्षर गर्न दबाब दिएकाले श्रमिकहरू श्रम अदालत भक्तपुरमा मिति २०८१ मंसिर ५ गतेका दिन मुद्दा नम्बर 081-AP-0023 मा अन्तरकालिन आदेश माग गर्दै निवेदन दिएकोमा सम्मानित श्रम अदालतले मिति २०८१ मंसिर ६ गतेका दिन श्रमिकलाई श्रमिक आपूर्तिकर्ता मार्फत रोजगार सम्झौता गर्ने लगायत यश सम्बन्धि अन्य काम नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी अल्पकालीन अन्तरकालिन आदेश जारी भएको थियो ।
सो पश्चात् मंसिर १९ गते दुबै पक्षको बहस भएको थियो र सोही दिन सम्मानित श्रम अदालत बाट मुद्दा नम्बर 081-LA-0063 र 081-LA-0068 को अन्तिम किनारा नलागे सम्म श्रमिक आपूर्तिकर्ताबाट रोजगार सम्झौता गर्न दवाब नदिनु , आपूर्तिकर्ता मार्फत रोजगार सम्झौता नगर्नु नगराउनु र बिपक्षी कोष बाट नै नियमित रूपमा पारिश्रमिक भुक्तानी गर्नु भनी अन्तरकालिन आदेश दिएको थियो ।
सम्मानित श्रम अदालतको अन्तरकालिन आदेश पछि सरसफाइ नाइके सन्तोष कार्की र महेश्वर राजवंशीले कुनैपनि हालतमा काम गर्न नदिने र यदि काम गर्ने भए अदालतमा मुद्दा फिर्ता लिएर खुकुरी नेपाल कम्पनीको फाराममा हस्ताक्षर गर्न मानसिक रूपले दैनिक हैरानी दिने गरेका थिय।
सदाझै पुस १ गते बिहान मन्दिर सरसफाइ काममा जादा सफाई नाइके सन्तोष कार्कीले खुकुरी नेपाल कम्पनीको फाराममा हस्ताक्षर नगरेसम्म हाजिर गर्न र काम गर्न नदिने भनेर काम गर्न रोक लगाए भने १० बजे अर्का नाइके महेश्वर राजवंशीले पनि कम्पनीको फाराममा हस्ताक्षर नगरेसम्म काम नदिने भने पछि श्रमिकहरू अदालतको आदेशको सम्मान गर्दै नियमित काममा लगाउन अनुरोध गर्दै धर्नामा बसेका थिय।
२०८१ पुस ४ गते श्रमिकले श्रम अदालत भक्तपुरमा आफूहरूलाई काम गर्न र हाजिर गर्न रोक नलगाउन अन्तरिम आदेश माग गर्दै 081-AP-0026 नम्बरको मुद्दा दर्ता भएको थियो । र सम्मानित श्रम अदालतबाट पुस ५ गते यथास्थितिमा काम लगाउन अल्पकालीन अन्तरकालीन आदेश जारी गरि पुस ११ गते दुबै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो । पुस ११ गते दुबै पक्षको बहस पछि पुस १८ गते छलफलको पेशी तोकी अल्पकालीन अन्तरकालिन आदेशलाई निरन्तरता दिएको छ।
पुस १८ गते दुवै पक्षको बहस पछि सम्मानित श्रम अदालत भक्तपुरले नियमित काममा लगाउने पुस ५ गतेको अन्तरकालिन आदेशलाई निरन्तरता दिएको छ।
श्रमिकले अदालतको आदेशको प्रतिलिपी सहित आफूहरूलाई हाजिर सहित काममा लगाउन पशुपति क्षेत्र बिकास कोषमा ०८१/९/७ मा दर्ता नम्बर १३८२ , ०८१/९/१२ मा दर्ता नम्बर १४२६ र ०८१/९/१९ मा दर्ता नम्बर १४८४ मा दर्ता गरे पनि हालसम्म हाजिर लगाई काममा लगाएको छैन ।