काठमाडौं । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोले एक सार्वभौम देशको राष्ट्रप्रमुखका रूपमा आफूलाई कानुनी विशेषाधिकार प्राप्त रहेको जिकिर गरेका छन् । उनले अमेरिकी न्यायाधीशसमक्ष आफूविरुद्धका सबै आपराधिक मुद्दा खारेज गर्न आग्रह गरेका छन् ।
न्युयोर्कस्थित म्यानह्याटन संघीय अदालतमा दर्ता गराइएको कानुनी निवेदनमा मादुरोका वकिलले अदालतसँग उनीविरुद्ध मुद्दा चलाउने कुनै कानुनी क्षेत्राधिकार नरहेको उल्लेख गरेका छन् । निवेदनमा मादुरोलाई एक सार्वभौम राष्ट्रप्रमुखका रूपमा विशेषाधिकार प्राप्त रहेको र उनीमाथि लगाइएका सबै आरोप पूर्ण रूपमा भ्रामक तथा आधारहीन भएको भन्दै त्यसको खण्डन गरिएको छ ।
यही वर्ष जनवरीको सुरुमा अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा चलाएको सैन्य अभियानका क्रममा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका पुर्याइएको थियो । मादुरोले लागुऔषध तस्करी र अवैध हातहतियारसम्बन्धी सबै आरोपमा आफू निर्दोष रहेको बयान दिएका छन् ।
अदालतले मुद्दा खारेजीको निवेदन अस्वीकार गरेमा मादुरोमाथिको औपचारिक कानुनी ‘ट्रायल’ सन् २०२७ को जुन १ देखि सुरु हुने गरी तय गरिएको छ । जिल्ला न्यायाधीश एल्भिन हेलरस्टिनले यो खारेजी निवेदनमाथि आउँदो नोभेम्बर १७ मा मौखिक बहस सुन्ने समय तोकेका छन् ।