काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बूढीगण्डकी नदीमा आएको बाढीमा बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गरेको छ । पार्टीका प्रवक्ता प्रकास ज्वालाले आइतबार जारी गरेको विज्ञप्तिमा बाढीमा बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गरिएको छ । बाढीबाट भएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पार्टीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
नेकपाले नदी तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका नागरिकको व्यवस्थित उद्धार गर्न तथा प्रभावित क्षेत्रमा औषधि, खानेपानी, खाद्यान्न र लत्ताकपडालगायत राहत सामग्री प्राथमिकताका आधारमा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । त्यस्तै, विस्थापित परिवारका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न र दीर्घकालीन पुनर्स्थापना तथा पुनर्निर्माणको स्पष्ट कार्ययोजना अघि बढाउन पनि पार्टीले माग गरेको छ ।
“नदी तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका व्यक्तिहरूको व्यवस्थित उद्धार कार्य तत्काल सञ्चालन गर्न र प्रभावित क्षेत्रमा औषधि, पानी, खाद्यान्न, लत्ताकपडालगायतका राहत सामग्री प्राथमिकताका आधारमा उपलब्ध गराउन, विस्थापित परिवारका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न तथा दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणको स्पष्ट कार्ययोजना अघि बढाउन आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।