काठमाडौं। बाँकेको कोहलपुर नगरपालिका वडा नं १ का वर्षौँदेखि बसोबास गर्दै आएका ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालका अनुसार “हामी धमाधम काम गरेर अव्यवस्थित बसोवासी तथा सुकुम्वासी जनतालाई जग्गाको धनी बनाउन लागिपरेका छौँ”, अध्यक्ष खनालले भने, “हामीले पाएको जिम्मेवारीअनुसार जनताको आशा र अपेक्षा पूरा गर्न लागिपरेका छौँ ।”
कोहलपुर –१ का थप सात सय ७४ अव्यवस्थित बसोवासीलाई असार ५ गतेबाट लालपुर्जा वितरण गर्नेगरी काम भइरहेको आयोगले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले भूमिसम्बन्धी समस्या समाधानमा आवश्यक सहयोग र समन्वयका लागि नगरपालिका सधैँ तत्पर रहेको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आयोगको काममा स्थानीय तह, जनप्रतिनिधि र राजनीतिक दलहरूले समेत जिम्मेवारपूर्ण तरिकाले सघाउनुपर्नेमा जोड दिए । भूमि समस्या समाधान आयोग जिल्ला समितिले हालसम्म बाँकेको कोहलपुर नगरपालिका–१ मा एक सय १७ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसकेको छ ।