काठमाडौं । नेपाल ‘ए’ले ओमान, अमेरिका र स्कटल्यान्ड सम्मिलित एकदिवसीय शृखंलामा पहिलो जित निकालेको छ । शुक्रबार ओमानलाई ११५ रनले पराजित गर्दै नेपाल ‘ए’ले शृखंलामा पहिलो जित दर्ता गरेको हो । यसअघि भएको पहिलो खेलमा घरेलु टोली ओमानसँग ७१ रनले पराजित भएको थियो । काठमाडौंको मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सम्पन्न उक्त खेलमा नेपाल ‘ए’ले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याएको ओमानले ३६.३ ओभरमा सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो ।
ओमानलाई सस्तैमा रोक्न युवराज खत्रीले तीन विकेट लिए । हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान दुई विकेट लिँदा सन्तोष यादवले एक विकेट लिए । ओमानका मुजिबर अलीलाई ४३ रन बनाए । अलीले ६६ बलमा दुई चौका प्रहार गरे । जतिन रमानन्दीले २४ रन बनाए । विनायक शुक्लाले २१ रन बनाउँदा ओपनर प्रुथ्वीकुमार माच्चिले १९, हमद मिर्जाले १८, जतिन्दर सिंहले १७ र वसिम अलीले १२ रन बनाए ।
त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८४ रनको योगफल खडा गरेको थियो । नेपालको निम्ति ईशान पाण्डेले ६९ रनको अर्धशतकीय इनिङ खेले । ईशानले ७८ बलमा ६ चौका प्रहार गरे । देव खनालले टोलीको निम्ति दोस्रो अर्धशतक प्रहार गरे । ६४ रनको अर्धशतकीय इनिङ खेलेका देवले ९५ बलमा पाँच चौका प्रहार गरे ।
कुशल मल्लले ५७ रन बनाउँदै टोलीका निम्ति तेस्रो अर्धशतकीय इनिङ खेले । ३२ बल खेलेका कुशलले समान चार चौका र छक्का प्रहार गरे । सन्दीप जोराले ४२ रन बनाउँदा सन्तोष यादवले १५ र ओपनर अर्जुन कुमालले १३ रन बनाए । ओमानका जितेन रमानन्दीले दु्ई विकेट लिए । शकेल अहमद, नदीम खान वसिम अलि र सिद्धार्थ बुकापटनमले समान एक विकेट लिए ।
ओमानको भने यो पहिलो हार हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ को पूर्वसन्ध्यामा यो शृंखला आयोजना गरिएको हो । यसपछि, नेपालले ओमानसँग लिग–२ अन्तर्गत आप्रिल २९ र अप्रिल २९ र मे ५ मा खेल्ने तालिका छ ।