काठमाडौं । खाडी राष्ट्र कुवेतमा विशाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीको मृत्यु भएको छ । विशाक्त मदिरा सेवन गरेर अशक्त बनेका ३५ जना नेपालीको स्थानीय ६ वटा अस्पतालमा उपचार भइरहेको छ । कुवेतस्थित नेपाली दूतावास स्रोतका अनुसार कुवतेका परराष्ट्र र स्वास्थ्य मन्त्रालयले यसबारे नेपाली दूतावासलाई जानकारी दिइसकेको छ ।
विशाक्त मदिरा सेवन गरी ६३ जना विदेशीको कुवेतको विभिन्न अस्पतालमा गत शनिबारदेखि उपचार भइरहेको छ । तीमध्ये १३ जनाको मृत्यु भएको छ जसमा ६ जना नेपाली रहेको पुष्टि भइसकेको दूतावास स्रोतले बतायो ।
“हामी निरन्तर कुवेतको परराष्ट्र र स्वास्थ्य मन्त्रालयको सम्पर्कमा छौँ । केही नेपालीको मृत्यु भएको र अशक्तको उपचार भइरहेको जानकारी प्राप्त भएको छ । हामी पुष्टि गर्ने प्रक्रियामा छौँ,” कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले भने ।
कुवेतमा मदिरा सेवन गर्न प्रतिवब्ध छ । तर, नेपालीले लुकिछिपी मदिरा सेवन गरेको घटना बेलाबखत बाहिर आउने गरेका छन् । यसपटक भने विशाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीको मृत्यु भइसकेको छ ।