खै, के बनेर आयौ तिमी मेरो जीवनमा ?

Nagarik Sewa 4658+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

बसन्त ऋतु बनेर आयौ तिमी,
पूर्णिमाको जून बनेर आयौ तिमी।
पराई भएर पनि ईश्वरको रूप बनेर आयौ तिमी।
भौंतारिएका मेरा पाइला समातेर गन्तव्य बनेर आयौ तिमी।
खै, के बनेर आयौ तिमी मेरो जीवनमा...?

मेरो जीवनको अर्थ बनेर आयौ तिमी,
मेरा अपूर्णताको पूर्णता बनेर आयौ तिमी।
मेरो जीवनको सप्तरङ्गी इन्द्रेणी बनेर आयौ तिमी,
मेरो आफ्नोपनको सबैभन्दा सुन्दर अनुभूति बनेर आयौ तिमी।
खै, के बनेर आयौ तिमी मेरो जीवनमा...?

मेरो आँसुको मूल्य बनेर आयौ तिमी,
मेरो हारमा हिम्मत बनेर आयौ तिमी।
मेरा हरेक प्रयासको प्रेरणा र सफलताको कारण बनेर आयौ तिमी,
मेरो मुस्कानको आधार बनेर आयौ तिमी।
खै, के बनेर आयौ तिमी मेरो जीवनमा...?

सन्तान नभएकी आमाको ममता बनेर आयौ तिमी,
मेरो उमेरले बिर्सिसकेको बालापन बनेर आयौ तिमी।
मेरा हरेक गल्तीको क्षमा बनेर आयौ तिमी,
मेरो संरक्षण, मेरो भरोसा र मेरो साहस बनेर आयौ तिमी।
खै, के बनेर आयौ तिमी मेरो जीवनमा...?

निर्मल जलको हिराजस्तै पवित्र बनेर आयौ तिमी,
ममताको नयाँ परिभाषा बनेर आयौ तिमी।
मायाको अथाह सागर बनेर आयौ तिमी,
प्रेमको सबैभन्दा सुन्दर अनुभूति बनेर आयौ तिमी।

केही क्षणअघि मात्र तिम्रै लागि लेखिएका ती शब्दहरू तिमीले यति आत्मीयता, सम्मान र प्रशंसाका साथ उच्चारण गरिरहँदा लाग्यो—सायद मेरा भावनाहरू बुझ्ने एउटा आत्मा मैले भेट्टाएँ।

मलाई विश्वास थियो, अब मेरा मनका प्रश्नहरू कहिल्यै एक्ला रहनेछैनन्। तर जीवनको यथार्थ सायद यही रहेछ—केही क्षणअघिसम्म आफ्नै लागेको संसार, एकैछिनमा अपरिचित पनि बन्न सक्छ।

सायद मेरो उपस्थितिले दिन नसकेको खुसी, मेरो अनुपस्थितिले पूरा गरोस्। यही कामना मात्र बाँकी रह्यो।

तर समय बद्लियो, परिस्थिति बद्लियो, सम्बन्धका परिभाषा पनि बद्लिए। नबद्लिएको एउटै कुरा छ—मेरो मनभित्र बारम्बार गुञ्जिरहने त्यो प्रश्न...

खै, के बनेर आयौ तिमी मेरो जीवनमा...?

सायद गुरु बनेर,
सायद अभिभावक बनेर,
सायद साथी बनेर,
वा ईश्वरले मेरो जीवनमा केही समयका लागि पठाएको एउटा सुन्दर अध्याय बनेर।

जे बनेर आए पनि, मेरो जीवनको इतिहासमा तिमीले छोडेको प्रभाव कहिल्यै मेटिने छैन।

गुरु पूर्णिमाको यस पावन अवसरमा पुनः एकपटक हृदयदेखि नमन। तपाईंको स्नेह, शिक्षा र आशीर्वाद सधैं ममाथि रहिरहोस्। यही मेरो प्रार्थना हो।  

उर्मिला श्रेष्ठ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार