काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र आगजनी गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ। बुधबार गृह जिल्ला झापाका विभिन्न स्थानमा पुगेर 'जेन–जी' आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका भौतिक संरचनाहरूको अवलोकन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको छ।
अध्यक्ष ओलीले राष्ट्रिय तथा सार्वजनिक सम्पत्ति, नगरपालिकाका कार्यालय र राजनीतिक कार्यकर्ताका घर जलाउनु गम्भीर आपराधिक क्रियाकलाप भएको उल्लेख गर्दै यस्ता गतिविधिलाई कुनै पनि बहानामा प्रोत्साहन गर्न नसकिने स्पष्ट पार्नुभयो। उहाँले देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनका लागि अपराध रोक्नुपर्नेमा जोड दिँदै अरूको घर र कार्यालय जलाउनेहरूलाई कानुनी कठघरामा उभ्याउनुको विकल्प नरहेको बताउनुभयो।
यसै क्रममा अध्यक्ष ओलीले वर्तमान अन्तरिम सरकारको कडा आलोचना गर्दै सरकारले नै अपराधीहरूलाई संरक्षण दिइरहेको आरोप समेत लगाउनुभयो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएपछि ओली चुनावी दौडधुप र स्थानीय क्षेत्रको अवलोकनमा सक्रिय देखिनुभएको छ।
यस पटकको निर्वाचनमा ओलीको क्षेत्र झापा–५ राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ, जहाँ उनले प्रमुख प्रतिस्पर्धीका रूपमा विभिन्न चुनौतीहरूको सामना गर्दै चुनावी अभियानलाई अगाडि बढाइरहेका छन्।