भाइरल मिम बन्दै शिक्षामन्त्री सस्मित पोखरेलको चुनावी प्रचारको कार-संवाद

Nagarik Sewa 4657+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

काठमाडौं । निर्वाचनको दौडधुपमा राजनीतिक दल र उम्मेदवारहरू मतदाताको ध्यान खिच्न हतकन्डा अपनाउँछन् । तर, गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य पदको चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका सस्मित पोखरेल र उनकी श्रीमती सुस्मिता अधिकारीले अपनाएको प्रचार शैली भने अलि नौलो र पृथक् बन्यो ।

उनी निर्वाचित भई हाल शिक्षामन्त्रीको जिम्मेवारी सम्हालिरहेका रहेका छन् । तर उनको चुनावी प्रचार शैलीको चर्चा भने अहिले आएर भाइरल बनिरहेको छ । गाडी हाँकिरहेका सस्मितलाई छेउमा बसेकी श्रीमतीले क्यामेरासामु जिज्ञासु बन्दै राजनीति, कानुन, समाज र समसामयिक विषयमा विविध प्रश्नहरू सोध्ने गर्थिन् । र सस्मितले ड्राइभिङकै क्रममा त्यसको सहजीकरण वा उत्तर दिने प्रयास गर्थे ।

चुनाव जितेर मन्त्रीको जिम्मेवारीमा पुगेपछि यो जोडीलाई लिएर व्यङ्ग्यात्मक तथा ठट्यौली मिमको नयाँ बाढी आउन थालेको छ । यो जोडी गएको अक्टोबरमा मात्र भड्किलो बिहेको साटो सादगीपूर्ण तरिकाले कोर्ट म्यारिज गरी विवाह बन्धनमा बाँधिएको थियो ।

भाइरल मिम ट्रेन्डमा सस्मित र उनकी श्रीमती गाडीमा बसेको उही पुरानो भिडिओको स्क्रिनशट वा त्यसैको कमिकलाई टेम्प्लेट बनाएर प्रयोग गरिएको छ । प्रत्येक मिममा श्रीमतीको भूमिकामा काल्पनिक र अप्रासङ्गिक, असम्भव वा बालसुलभ प्रश्नहरू राख्ने गरिएको छ । "Sasmit! यो गरिबीको रेखा कती लामो हुन्छ?", "सस्मित, यो चामल फल्ने रुख कस्तो हुन्छ ?" जस्ता संवादका कृत्रिम प्रश्न राखेर रमाइलो वा व्यङ्ग्य सिर्जना गरिएका छन् ।

सस्मितको चुनावी प्रचारका क्रममा गम्भीर र जटिल राजनीतिक तथा नीतिगत प्रश्नहरूलाई पनि एकदमै सरल र क्युट तरिकाले प्रस्तुत गरिएको थियो । आलोचक र मिम क्रियटरहरूले यही अति-सरलीकृत शैलीलाई व्यङ्ग्यको मुख्य हतियार बनाएका छन् ।

मिमहरूमा सोधिएका प्रश्नहरू जस्तै- "दूध गाईले दिन्छ कि डेरीले ?" वा "यो 'गरिब' भनेको के हो ?" ले टाढाको वास्तविकता नबुझेका वा सहरी-कुलिन वर्गले सोध्ने 'बालसुलभ' प्रश्नको रूपमा व्यङ्ग्य गरेको छ ।

नेपालमा नयाँ तथा युवा नेताहरू सत्तामा पुगेपछि उनीहरूमाथि जनताको चासो र निगरानी उच्च हुन्छ । यो मिम ट्रेन्ड केवल मनोरञ्जन मात्र नभई, शिक्षामन्त्री बनेका सस्मितलाई सामाजिक सञ्जालले आफ्नै शैलीमा खोजिरहेको डिजिटल जवाफदेहीता (Digital Accountability) पनि हो

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै