यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड

Nagarik Sewa 4662+ समाचार ( )
१४ श्रावण २०८३, बिहीबार

काठमाडौं ।  पूर्वप्रधामन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार असफल भएमा नेपाल राष्ट्र नै असफल हुने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए ।  प्रतिनिधिसभाको बिहीबारको बैठकमा पूर्वप्रधानमन्त्री दाहालले सरकारको नेतृत्वले आफ्ना गतिविधि सच्याएर लैजानुपर्ने र सहकार्यमा अगाडि बढ्नुपर्ने बताए । सडकमा देखा परेका आक्रोश र मुलुकका विभिन्न भागमा भइरहेका घटनाले सहज अवस्था नरहेको संकेत देखिएको दाहालको भनाइ थियो ।

'यो मेरो चिन्ता मात्रै हो, मेरो निष्कर्ष र आरोप होइन त्यो ढंगले नलिइयोस्, यो सरकारलाई पनि फेरि असफल साबित गर्ने, यो सरकारले पनि शान्ति सुरक्षा कायम गर्न सकेन, जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न सकेन, यो सरकारले पनि सुशासन कायम गर्न सकेन, त्यसकारण नेपाललाई असफल राष्ट्र बनाउने र अर्को ठूलो दुर्घटना हुने त होइन भन्ने चिन्ता म व्यक्त गर्न चाहन्छु,' दाहालले भने, 'यो सरकारलाई असफल हुने छुट पनि छैन  तपाईहरू असफल हुनुभयो भने तपाईंहरू मात्रै असफल नहुने नेपाल राष्ट्र नै असफल हुने खतरा छ । त्यसकारण मैले तपाईंहरूलाई गर्ने सुझाव, आलोचना टिप्पणी यो राष्ट्रको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको लोकतन्त्रिक अधिकार यो सबैको संरक्षणको निम्ती अनिवार्य छ ठानेर म यो कुरा भन्दैछु ।'

सरकार गठन भएयता सकरात्मक भन्दा पनि नकरात्मक गतिविधि भएको दाहालको भनाइ थियो । सुकुमवासी, ट्रेड युनियन, विद्यार्थी संगठन र भौगोलिक सीमाबारेका अभिव्यक्तिले सरकारबारे सकरात्मक धारणा बन्न नसकेको दाहालको भनाइ थियो । लगानी, उत्पादन, रोजगारी, पुँजीगत खर्च, राजश्व संकलन, बजारको विकास, कर प्रणाली सम्बन्धमा सरकारले लिएका कदमले पनि जनता झस्किएको उनको भनाइ थियो ।

दाहालले संविधान संशोधनबारे गम्भीर भएर कदम चाल्न पनि सरकारलाई सुझाव दिए । संविधान निर्माणको परिस्थिति बुझेर मात्रै अघि बढ्नुपर्ने उनको भनाइ थियो । संविधान संशोधन लोकतन्त्रको सुदृढीकरणका लागि हुनुपर्ने उनले बताए । 'जसरी सरकार प्रस्तुत भयो त्यसले कहिँ कतै यो संविधान जो हजारौंको बलिदानबाट र धेरै ठूलो त्याग र तपस्याबाट लामो संघर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्रसहितको संविधानलाई पुनर्लेखन गर्न खोजिएको त होइन ?,' उनले भने । संविधान लोकतन्त्रलाई अझ कमजोर बनाउनका लागि चलाउन खोजिएको त होइन भनेर दाहालले प्रश्न गरेका छन् ।

दाहालले जनताका आकांक्षा पूरा गर्न सरकार र प्रतिपक्षी संयुक्त रूपमा अगाडि बढ्नुपर्ने बताए । 'नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको रक्षाको निम्ती नेपाली जनताको सार्वभौम सत्ताको सुद‌ृढीकरणको निम्ती हामी सबैले भन्ने गरेको सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्नको निम्ती हामीले एकताबद्ध पहल गर्न जरुरी छ,' दाहालले भने, 'रास्वपा सांसद र सभामुखको माध्यमबाट भन्न चाहन्छु प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिले असहज बनाएको छ भने स्पष्टिकरण दिनुपर्छ, सदनमा उभिएर । यो एउटा लोकतान्त्रिक परम्परा हो । यसलाई भाँच्ने कोसिस नगरियोस्, यसलाई उल्ट्याउने कोसिस नगरियोस् ।'

प्रधानमन्त्री शाहले संसदमा आएर आफूले विगतमा भनेका कुरामाथि स्पष्टिकरण दिँदा राम्रो हुने दाहालको सुझाव थियो । 'तपाईं आएर यहाँ स्पष्टिकरण दिएर तपाईं सानो हुने होइन, बरु तपाईको कद अझ माथि जानसक्छ । तपाईंले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईंको कद सानो हुने होइन बरु बढेरै जान्छ,' दाहालले भने, 'कता लैजाने देशलाई यतिबेला तपाईंको हातमा छ । आशा गर्छु तपाईंले पक्कै पनि हामीले गम्भीर ढंगले र सकरात्मक ढंगले अझै पनि यो देश यतिबेला रास्वापाका कामकारबाही र क्रियाकलाप कता जान्छन् यो असफल राष्ट्र बनाउने कि नबनाउने भन्ने बढी तपाईंहरूको हातमा छ । त्यसकारण हिजो जसरी रवि लामिछानेले सहकार्यको एउटा नयाँ संस्कार फेरि अगाडि बढाउन खोज्नुभएको छ । यो सहकार्यको प्रक्रिया मार्फत देशमा देखिएका सबै घटनाक्रमको समाधानका निम्ती अपील गर्छु ।'

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार