काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने भएपछि मतदान स्थल भृकुटीमण्डपमा मत माग्दै हिँड्ने र प्रचार प्रसार गर्नेहरुको बिहानैदेखि चहलपहल छ। मतदान हुनुअघि उम्मेदवारहरु र तिनका समर्थकहरु मतमाग्न व्यस्त छन्।
कतिपय उम्मेदवार आफ्ना समर्थकसहित हुल बाँधेर भोट माग्दै हिँडिरहेका छन्। समर्थकहरु उम्मेदवारको नाम लिँदै नारा लगाइरहेको पनि सुनिन्छ। कतिपय भने शान्त तरिकाले भोट मागिरहेको देखिन्छ। प्रदर्शनी मार्ग क्षेत्रको सडकमा एमाले कार्यकर्ताहरुको भिड देखिन्छ । त्यसैले प्रहरीले सो सडक बन्द गराएको छ।
एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्। प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन्। केन्द्रीय निर्वाचन आयोगले मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकेको छ तर उम्मेदवारहरुको अन्तिम नामावली प्राप्त हुन ढिलो भएकाले मतदान पनि केही ढिलो हुने प्राविधिकहरुले बताएका छन्। विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण इन्ट्री गर्नुपर्ने भएकाले मतदान सुरु हुन चार बज्न सक्ने भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालले बताए।