काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले यसपटकको मतदान शान्तिका निम्ति गर्न आग्रह गर्नुभएको छ। मंगलबार राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन नवलपुर (पूर्वी नवलपरासी) को हात्तिखोर पुग्नुभएकी प्रधानमन्त्री कार्कीले स्थानीय समुदाय, शिक्षक तथा अभिभावकसँगको अन्तरक्रियामा यस्तो आग्रह गर्नुभएको हो।
त्यस क्रममा उहाँले भन्नुभयो, ‘यो चुनाव नियमित चुनाव होइन । यो विशेष चुनाव हो । तपाईँहरु शान्तिका लागि मतदान गरिदिनुहोस् । यो खुट्किला जसरी पनि पार गर्नुपर्नेछ । व्यक्तिको जितहार भन्ने दोस्रो कुरा हो । पहिला देशलाई जिताऊँ । देशको शान्ति र रूपान्तरणका निम्ति हामी सबै एक ठाउँमा उभिएर सङ्कल्प गर्नुपर्ने बेला हो । शान्ति र सुव्यवस्था मुलुकमा भयो भने पालो पाइएन भन्नेहरू पनि सबैले पाउलान् ।’
दीक्षान्त कवाजको औपचारिक समारोह सकिएपछि प्रधानमन्त्री कार्कीले उपस्थित विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि, सञ्चारकर्मीसँग अन्तरक्रिया गर्नुभएको थियो। उहाँले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कमल पराजुली, प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेलगायत स्थानीय सुरक्षा अधिकारीहरूसँग चुनावको तयारी तथा सुरक्षा अवस्थाबारे पनि जानकारी लिनुभयो। त्यस क्रममा उहाँले चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका निम्ति कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन पनि दिनुभयो।