काठमाडौँ । सरकारले बिहीबार सिंहदरबार प्रवेशमा पत्रकारमाथि कडाइ गरेको छ। सामान्य अवस्थामा सूचना तथा प्रसारण विभागबाट जारी प्रेस प्रतिनिधि परिचयपत्र देखाएर प्रवेश पाउँदै आएका पत्रकारलाई बिहीबार भने थप सुरक्षा जाँचसँगै नाम टिपाएर मात्रै प्रवेश अनुमति दिइएको छ। संसदीय समितिको बैठकको समाचार संकलनका लागि सिंहदरबारको प्रवेशद्वारमा पुगेका पत्रकारलाई सुरक्षा निकायले परिचयपत्र देखाएकै आधारमा प्रवेश नदिई माथिबाट नाम टिपाएपछि नाम तथा आवश्यक विवरण अभिलेख गरेपछि मात्रै भित्र जान दिएको हो। केही पत्रकारलाई प्रवेशका लागि सम्बन्धित निकायबाट नाम आउनुपर्ने भन्दै रोकिएकोसमेत बताइएको छ।
यसअघि आधिकारिक प्रेस परिचयपत्र देखाएपछि पत्रकारले तुलनात्मक रूपमा सहज रूपमा सिंहदरबार प्रवेश पाउँदै आएका थिए। जनआस्था सम्पादक पत्रकार किशोर श्रेष्ठलाई गोपनीयता भंगसम्बन्धी विषयमा प्रहरीले पक्राउ गरेपछि सिंहदरबारको सुरक्षा व्यवस्थासमेत थप कडा पारिएको छ। कर्मचारीबाहेक सिंहदरबार प्रवेश गर्ने व्यक्तिको परिचयपत्र जाँचसँगै नाम तथा आवश्यक विवरण टिपेर मात्रै प्रवेश अनुमति दिन थालिएको हो। यद्यपि, पत्रकारमाथि गरिएको प्रवेश कडाइ श्रेष्ठको पक्राउसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको भन्नेबारे सरकार वा सुरक्षा निकायबाट औपचारिक जानकारी सार्वजनिक भएको छैन।
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा पत्रकारहरुले विरोधका कार्यक्रम अघि बढाएका छन्। समाचार सामग्रीसँग सम्बन्धित विवादमा नियामक तथा न्यायिक उपचारका संयन्त्र हुँदाहुँदै प्रहरीमार्फत पक्राउ गरिएको भन्दै पत्रकारहरूले प्रश्न उठाएका छन्।