काठमाडौं । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को ६२ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा सार्वजनिक निकायहरूको खर्च, आर्थिक अनुशासन, र बेरूजुको अवस्थाबारे विवरण प्रस्तुत गरिएको छ।
उक्त प्रतिवेदन अनुसार सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा कम बेरूजु इन्द्रावती गाउँपालिकाको देखिएको छ। गाउँपालिकाको कुल बजेटमध्ये मात्र १.४६ प्रतिशत बेरूजु देखिएको उल्लेख गरिएको छ, जुन आर्थिक अनुशासन र पारदर्शिताको दृष्टिकोणले सकारात्मक संकेत हो।
महालेखापरीक्षकको प्रतिवेदनले अन्य स्थानीय तहहरूमा भने उच्च बेरूजु देखिएको छ। कतिपय पालिकाहरूमा सार्वजनिक खरिद प्रक्रिया र खर्चको पारदर्शिता अभावका कारण बेरूजुको दर उच्च रहेको पाइएको हो।
प्रतिवेदनमा सरकारी निकायहरूलाई बेरूजु घटाउन, लेखापरीक्षणको सुझाव पालना गर्न, र वित्तीय अनुशासनमा सुधार ल्याउन सिफारिस गरिएको छ। सरकारले महालेखापरीक्षकको प्रतिवेदनलाई गम्भीर रूपमा लिएर सुधारात्मक कदम चाल्नुपर्ने आवाज उठेको छ।