१८औँ नाडा अटो शो २०२६’ भदौ ९ गतेदेखि

Nagarik Sewa 4745+ समाचार ( )
५ भाद्र २०८३, शुक्रबार

काठमाडौं । सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायी मिलेर स्थापना गरेको सानो संगठन पाँच दशक पूरा गरी स्वर्ण जयन्ती मनाउने मोडमा आइपुगेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे ऐतिहासिक यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ भदौ ९ देखि १४ गते (अगस्ट २५ देखि ३०) सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गर्ने भएको छ ।

भृकुटीमण्डपको करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने यस प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । मेलामा २३ वटा चारपांग्रे (यात्रुवाहक) ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी ब्रान्ड र १३ वटा दुईपांग्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ ।  पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी करिब ७० वटा कम्पनीका साथै १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू समेत सहभागी हुनेछन् ।

पाँच दशकको अवधिमा नेपाली अटोमोबाइल क्षेत्रले लोभलाग्दो फड्को मारेको छ । हाल नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन् ।  पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारी तथा सम्बन्धित सामग्री आयात गर्दा राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको छ । जसले अटोमोबाइल क्षेत्रलाई राष्ट्रिय ढुकुटीको मुख्य मेरुदण्ड बनाएको छ । 

हरित गतिशीलतातर्फ उन्मुख हुँदै देशमा करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेका छन् । जसका लागि करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जाल तयार भइसकेको छ  नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यो स्वर्ण जयन्ती संस्करण केवल एउटा संस्थाको उत्सव मात्र नभएर सिंगो उद्योगको योगदानको लेखाजोखा हो ।

“५० वर्ष भनेको कुनै उद्योगलाई ‘कति बिक्री गर्‍यो’ भन्ने आधारमा होइन, ‘कति धानिरहेको छ’ भन्ने आधारमा नाप्न थाल्न पर्याप्त समय हो । भदौ ९ गते हामीले खोल्न लागेको प्रदर्शनी त्यही हो,” अध्यक्ष उप्रेतीले भने ।

नेपालको अटोमोबाइल क्षेत्रलाई केवल आयात र बिक्रीमा मात्र सीमित नराखी रोजगारी सिर्जना, राजस्व संकलन, हरित प्रविधिको विस्तार र समग्र आर्थिक चलायमानताको प्रमुख संवाहकका रूपमा विकास गर्न नाडाले नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।  ५० वर्षको यो ऐतिहासिक कोशेढुंगाले नेपाली सडक र यातायात प्रणालीलाई थप आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन नयाँ दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार