सिन्धुपाल्चोक २ मा मतदाताको मन जित्दै चौलागाईं : ठूला दल दबाबमा, चुनावी माहोल थप रोचक बन्दै

Nagarik Sewa 4501+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

सिन्धुपाल्चोक l सिन्धुपाल्चोक–२ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल झन् रोचक र प्रतिस्पर्धात्मक बन्दै गएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता दलहरू चुनावी मैदानमा सक्रिय रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले युवा तथा इन्जिनियर पृष्ठभूमिका नेता ई. गोपिकृष्ण चौलागाईंलाई उम्मेदवार बनाएपछि यहाँको राजनीतिक समीकरण नयाँ मोडमा पुगेको हो। राप्रपाका पूर्वअध्यक्ष तथा प्रभावशाली नेता पशुपतिशमशेर जबराले चौलागाईंलाई सिन्धुपाल्चोक–२ को उम्मेदवारका रूपमा अघि सारेपछि यो क्षेत्र राष्ट्रिय राजनीतिक वृत्तमै विशेष चासोको विषय बनेको छ। लामो समयदेखि ठूला दलको प्रभाव रहेको यस क्षेत्रमा चौलागाईंको प्रवेशले मतदातामाझ नयाँ राजनीतिक विकल्पको बहसलाई बलियो बनाएको छ।

यस निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच हुने अनुमान गरिए पनि, चौलागाईंको उम्मेदवारीले परम्परागत दुई ध्रुवीय राजनीतिलाई चुनौती दिएको छ। एमालेको संगठित मत आधार, कांग्रेसको पुरानो प्रभाव र नेकपाको उपस्थितिका बीचमा राप्रपाले युवामैत्री तथा विकासमुखी एजेन्डा अघि सारेको छ। भौतिक पूर्वाधार विकास, सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण र युवालाई स्वदेशमै अवसर दिने योजनासहित चौलागाईं गाउँ–गाउँ पुगेर घरदैलो अभियानमा सक्रिय छन्। इन्जिनियरिङ पृष्ठभूमि भएकाले विकास योजनालाई व्यवहारिक रूपमा अघि बढाउन सक्ने सक्षम उम्मेदवारका रूपमा उनलाई मतदाताले लिन थालेका छन्। ठूला दलप्रतिको असन्तुष्टि बढिरहेका बेला उनको स्पष्ट दृष्टिकोण र सरल व्यक्तित्वले आम नागरिकमा भरोसा जगाएको देखिन्छ।

राजनीतिक यात्रामा मात्रै होइन इन्जिनियरिङ क्षेत्रमा समेत अनुभव बटुलेका चौलागाईं नगर सदस्य, जिल्ला सदस्य हुँदै बागमती प्रदेश सदस्यसम्मको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका नेता हुन्। करिब एक दशक सञ्चार क्षेत्रमा काम गरेको अनुभवले उनलाई जनसरोकारका मुद्दा बुझ्न थप सक्षम बनाएको छ। समाजसेवामा पनि उत्तिकै सक्रिय उनी विपद् व्यवस्थापन, बाटोघाटो निर्माण, मन्दिर संरक्षण तथा विपन्न परिवारलाई सहयोग गर्ने कार्यमा निरन्तर अग्रपंक्तिमा देखिँदै आएका छन्। “भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो” भन्ने उनको स्पष्ट अभिव्यक्तिले इमानदार र स्वच्छ छविको नेता रूपमा परिचित गराएको छ। कांग्रेस र एमालेजस्ता बलिया संगठन भएका दलसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिँदा पनि उनको व्यक्तिगत लोकप्रियता दिनप्रतिदिन बढ्दै जानु यस निर्वाचनको महत्त्वपूर्ण पक्ष बनेको छ।

राष्ट्रिय राजनीतिमा पछिल्लो समय राप्रपाको प्रभाव र महत्त्व क्रमशः बढ्दै गएको सन्दर्भमा सिन्धुपाल्चोक–२ को चुनावलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यहाँ मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाबीच त्रिपक्षीय रूपमा केन्द्रित हुने सम्भावना प्रबल देखिन्छ। नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले मत विभाजन गर्ने अवस्थाले चौलागाईंलाई थप लाभ पुग्न सक्ने राजनीतिक विश्लेषकहरूको ठहर छ। युवापुस्ताको आकर्षण, विकासप्रतिको स्पष्ट दृष्टिकोण र नयाँ नेतृत्वको खोजीमा रहेका मतदाताको मनोभावका कारण राप्रपा यस क्षेत्रमा बलियो वैकल्पिक शक्तिका रूपमा उदाउँदै गएको छ। अन्तिम फैसला मतपेटिकाबाटै आउने भए पनि, ई. गोपिकृष्ण चौलागाईंको सशक्त उपस्थितिले यसपटक सिन्धुपाल्चोक–२ को निर्वाचनलाई अत्यन्त प्रतिस्पर्धात्मक, रोचक र ऐतिहासिक महत्त्वको बनाएको छ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै