विपक्षी दलहरूको दुई सदस्य कार्यदल पनि गठन

Nagarik Sewa 4376+ समाचार ( )
२ माघ २०८१, बुधवार

काठमाडौं। सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दल कार्यालयमा बुधबार विपक्षी दलहरूको बैठक बसेको छ। सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरिरहेकाले तत्काल सदन बोलाउन दबाब दिने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिनुभयो ।

संसद छलेर सरकारले अध्यादेश ल्याएको विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो । बैठकले सरकारको काम कारबाहीको सम्बन्धमा साझा धारणा बनाउन दुई सदस्य कार्यदल पनि गठन गरेको छ ।  

कार्यदलमा माओवादीका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठले जानकारी दिनुभयो। सरकार संसद् छलेर अध्यादेशबाट अलोकतान्त्रिक, स्वेच्छाचारी ढङ्गले शासन गर्न लागेको ठहर गर्दै दबाब दिने उद्देश्यले साझा ड्राफ्ट बनाउने निर्णय भएको श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार कार्यदलले बेलुकासम्म ड्राफ्ट तयार गर्ने र भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने सहमति भएको छ ।  ‘बैठकले दुई सदस्य ड्राफ्ट कमिटी बनाएको छ । बेलुकासम्म तयार हुन्छ । भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिन्छ । पत्रकार सम्मेलनमा शीर्ष नेताले पनि बोल्नुहुन्छ’, उहाँले भन्नुभयो । ड्राफ्टमा सरकारले ल्याएको अध्यादेश, ६ महिनाको काम कारबाही, संसद् अधिवेशन बोलाउने विषय, समसामयिक विषय लगायत समेटिने श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार