काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ। काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । मानव अधिकार आयोगले समेत भनिसक्यो,’ ओलीले भन्नुभएको छ । उहाँले दुर्गा प्रसाईंले दिउँसो सार्वजनिक गरेको भिडियोकै आधारमा रातारात सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाउनुभयो। प्रसाईंले भएकै कुरा भिडियोमार्फत सार्वजनिक गरेको ओलीको दाबी छ ।
‘दुर्गा प्रसाईंले एउटा भिडयो निकाले । दिउँसो निस्कियो बेलुका समातियो । यो सरकारसँग तयो भिडियोको जवाफ छ कि छैन ? दुर्गा प्रसाईंलाई दिने जवाफ छ कि छैन । म प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्न चाहन्छु । एआई त होइन होला,’ ओलीले भन्नुभयो । उहाँले अभिव्यक्ति दिएकै आधारमा उत्तेजित भएर कसैलाई पनि गिरफ्तार गर्न नपाइने बताउनुभयो।