काठमाडौं। भिजिट भिसा प्रकरण उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म संसद्को अवरोध नहटाउने निष्कर्षमा विपक्षी दलहरू पुगेका छन्। आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले विपक्षी दलहरूले राखेको प्रस्तावमा सत्ताधारी कांग्रेस र एमाले तयार नभएकाले संसद्को अवरोध जारी राख्ने निष्कर्ष निकालेको छ ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार भएको छलफलबारे जानकारी गराएको माओवादीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार प्रचण्डले संसद्को अवरोध हटाउन विपक्षी दलहरूले राखेको प्रस्ताव उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार भए सदन खुलाउन आफू तयार भएको प्रस्ताव राखेका थिए । तर प्रचण्डको प्रस्तावमा देउवा तयार नभएकोबारे उनले बैठकमा ब्रिफिङ गरेका थिए ।