काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाललाई वैदेशिक शक्तिहरूले युक्रेन बनाउन खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुक बहुआयामिक संकटमा फसेको र यसबाट बाहिर निस्कन वामपन्थी तथा देशभक्त सक्तीहरूबिचको बृहत्तर एकता अनिवार्य रहेको बताउनुभयो।
खनालले विश्वको शक्ति सन्तुलनमा व्यापक परिवर्तन भइरहेको र पश्चिमा शक्तिहरूको वर्चस्व रहेको पुरानो विश्व व्यवस्था विघटनको दिशामा रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार, अब विश्वमा न्याय र समानतामा आधारित नयाँ व्यवस्थाले आकार लिइरहेको छ, जसको प्रभाव नेपालमा पनि परिरहेको छ ।
देशको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै खनालले कुशासन, भ्रष्टाचार र बेरोजगारीका कारण देशको सामाजिक–आर्थिक संकट गहिरिएको बताउनुभयो। विशेषगरी गत भदौ २४ गते जेन्जी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र लुटपाटले मुलुकलाई महासंकटमा धकेलेको उहाँको ठहर छ। उहाँले यसलाई देशी विदेशी प्रतिक्रियावादीहरूको सुनियोजित महाविध्वंसको संज्ञा दिनुभएको छ।
वर्तमान सरकारले घोषणा गरेको निर्वाचनको स्वागत गर्दै खनालले तर निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वाधार अझै तयार नभएको आशंका व्यक्त गर्नुभयो। खनालले १७ वटा विभिन्न वाम समूहहरूबिचको एकताबाट नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको जानकारी दिँदै बाँकी रहेका सम्पूर्ण कम्युनिस्ट र वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध हुन आह्वान गर्नुभएको छ।


