काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपाललिका- ६ वसन्तपुरमा श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुँदै छ । यही पुस १६ गतेदेखि २२ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ । गौखुरेश्वर फलाँटेश्वर गडगडेधाम विकास उपभोक्ता समितिको आयोजनामा महायज्ञ हुन लागेको हो ।
यस महायज्ञमा विभिन्न पण्डितहरूले कथा वाचन गर्नेछन् । इन्द्रावती गाउँपालिका- ६ सिपा वसन्तपुरमा अवस्थित एक अनन्त कालदेखि पूर्खाहरूले अहिलेसम्म पूजा गर्दै आएको र गाईको खुट्टाको डाम ढुंगोमा देखिएकाले त्यहाँ भगवान् महादेवको वास रहेको जनविश्वास छ । यही ठाउँमा अहिले श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुन लागेकाे हाे ।
१०८ गौमुखे ढुंगेधारा, ६४ शिवलिंग, मुक्तिनाथ मन्दिर, पितृ तीर्थ निर्माण गर्ने डिपिआर तयार भइसकेको छ । त्यस कार्यलाई पूर्णता दिन श्रीमदभागवत महायज्ञको आयोजना गरिएको श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञका अध्यक्ष पण्डित रामकृष्ण आचार्यले जानकारी दिए । कथा श्रवण गरी जन्मजन्मकाे पुन्य भागी बन्न अध्यक्ष आचार्यले सबै भक्तजनमा अनुरोध गरेका छन् ।
गौखुरेश्वरमा गाईले स्वयं दुध चढाएको जनविश्वास रहेको छ । स्थानीय समुदायमा गौखुरेश्वर महादेव साक्षात् शिवजी भएको विश्वास गरिन्छ । गौखुरेश्वर फलाँटेश्वर महादेव धाममा गड्गडाएर सधैँभरि पानीको मूल फुटेको हुँदा गड्गडे भन्ने नामले परिचित यस धाममा मुक्तिनाथको झझल्को आउने स्थानीयको भनाइ छ ।
गौखुरेश्वर फलाँटेश्वर महादेव प्रांगणमा ०७२ सालको भूकम्पको कारणले पाटी, पौवा, सत्तलहरू भत्केर भग्नावशेष भएकाले त्यस स्थानमा नयाँ मन्दिर, शिव पाञ्चायन, पञ्चमुखी हनुमान, बुढानीलकण्ठ, नवग्रह, सप्तऋषि, अष्टचिरञ्जीवी, स्वस्थानी, पाथीभरा, दक्षिणकाली आदि देवी देवताको मूर्ति स्थापना भएर पूजा भइरहेको छ ।