काठमाडौं। गुल्मीको इस्मा गाउँपालिकामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका–५ रातामाटाका स्थानीय ४१ वर्षीय यमबहादुर कुमालले आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमाललाई दाउराको चिर्पटले प्रहार गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीम किरण बोगटीले बताए।
कुटपिटबाट गम्भीर घाइते भएकी मुना अचेत अवस्थामा पुगेकी थिइन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट धनार्जेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते महिलालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाएको थियो। उपचारकै क्रममा आज बिहान चिकित्सकले मुना कुमाललाई मृत घोषणा गरेका हुन् । घटनामा संलग्न यमबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक विवेक घलेको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा यमबहादुरले मदिरा सेवन गरेको अवस्थामा श्रीमतीमाथि कुटपिट गरेको खुलेको छ ।