नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक

Nagarik Sewa 4261+ समाचार ( )
४ श्रावण २०८२, शनिबार

काठमाडौं । अष्ट्रेलियाको सनसाइन कोस्टमा यही जुलाई 10 देखि 20 सम्म सम्पन्न भएको 66औं इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाड (IMO) 2025 मा नेपालले अहिलेसम्मकै सबैभन्दा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। विश्वका 112 राष्ट्रका प्रतिभाशाली युवा विद्यार्थीहरूमाझ सम्पन्न उक्त अन्तर्राष्ट्रिय गणित प्रतियोगितामा नेपाली विद्यार्थी श्रेयस शर्मा बास्तोलाले नेपालका लागि पहिलोपटक कास्य (ब्रोंज) पदक जितेर नयाँ कीर्तिमान कायम गरेका हुन्।

नेपालबाट प्रतिनिधित्व गरेका ६ जना युवा मध्ये ललितपुरका आयाम आचार्यले ‘अनरेबल मेन्सन’ हासिल गरेका छन्। अन्य सहभागीहरू — बाराका द्रोण चौधरी, बर्दियाका आयुष ठगुन्ना, मोरङका नमन महेश्वरी र धनुषाका आशिष मिश्र — सबैले उल्लेखनीय अंक ल्याएर राष्ट्रिय गौरव बढाएका छन्।

नेपाल गणित संघका महासचिव तथा देशको प्रतिनिधि टोली नेतृत्व गरिरहेका छबि ढुङ्गानाका अनुसार, बास्तोलाले 20 अंक हासिल गर्दै सन् 2018 मा स्वीकृती आचार्यले राखेको 16 अंकको रेकर्डसमेत तोडेका हुन्।

सात वर्षको यात्रा, ऐतिहासिक उपलब्धि

नेपालले IMO मा सन् 2017 को ब्राजिल ओलम्पियाडबाट नियमित सहभागिता जनाएको हो। यो नवौं वर्षको सहभागितामै देशले ऐतिहासिक सफलता हात पार्नु उल्लेखनीय छ।

प्रतियोगिताका लागि देशभरिबाट करिब 2300 विद्यार्थीले प्रारम्भिक छनोट परीक्षा दिएका थिए। जिल्ला, प्रदेश हुँदै केन्द्रीय छनोटमा उत्रिएपछि 60 घण्टाभन्दा बढीको शारीरिक तालिमपछि उत्कृष्ट ६ प्रतिस्पर्धीहरूको टोली अष्ट्रेलिया पुगेको थियो।

नेपाल गणित संघ, म्याथेम्याटिकल एशोसिएशन अफ नेपाल (MAN), र प्रशिक्षक टोलीको निरन्तर अभ्यास र समर्पणले यो सफलता सम्भव भएको हो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई प्रशिक्षक हरिशरण पण्डित, प्रजित अधिकारी लगायतको टोलीले लामो समयदेखि तयारी गराउँदै आएको थियो।

संघका उपाध्यक्ष हरि प्रपन्न कँडेलले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सफल हुन सरकारको स्पष्ट सहयोग, लगानी र नीतिगत समर्थन अपरिहार्य भएको बताए। उनका अनुसार यदि राज्यले गम्भीरता देखायो भने नेपालले गणित जस्तो कठिन प्रतिस्पर्धात्मक क्षेत्रमा पनि विश्वभर प्रभाव जमाउन सक्छ।

IMO को संरचना र नेपालका लागि अवसरहरू

IMO मा २० वर्ष मुनिका स्नातक तहमा भर्ना नभएका विद्यार्थीहरू मात्र सहभागी हुन्छन्। प्रतियोगिता दुई दिनसम्म चल्छ, जहाँ प्रत्येक दिन तीन–तीनवटा गरेर ६ वटा समस्या सोधिन्छ, जसलाई समाधान गर्न विद्यार्थीहरूलाई हरेक दिन साढे ४ घण्टाको समय दिइन्छ। प्रत्येक प्रश्नको अधिकतम ७ अंक हुने गरी कुल ४२ अंकको मूल्यांकन हुन्छ।

विश्वभरका उत्कृष्ट प्रतिभाहरू सहभागी हुने यो प्रतियोगितामा स्वर्ण, रजत, कास्य पदकसहित “अनरेबल मेन्सन” वितरण गरिन्छ। हालसम्म नेपालका 9 विद्यार्थीले यी पुरस्कारहरू प्राप्त गरिसकेका छन्।

नेपाल गणित संघले आगामी वर्ष चिनको साङ्घाईमा हुने 67औं गणित ओलम्पियाडको तयारी अहिलेबाट सुरु गरिसकेको छ। संघका अध्यक्ष डा. विनोद प्रसाद पन्तका अनुसार, आगामी भाद्र दोस्रो सातादेखि नयाँ छनोट चरण सुरु हुनेछ। उनका अनुसार सन् 2026 मा चीन, इरान, तुर्कमेनिस्तान, ताइवान, हङकङ जस्ता देशमा हुने विभिन्न गणित प्रतियोगितामा नेपालबाट 50 बढी विद्यार्थीले सहभागी हुनेछन्।

छनोटमा सफल हुने विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित विश्वविद्यालयमा छात्रवृत्तिसहित उच्च शिक्षा प्राप्त गर्ने अवसर पनि खुला हुन्छ।

IMO–2025 मा नेपालले हासिल गरेको कास्य पदक केवल पदक मात्र होइन, यो नेपालको शिक्षा, प्रतिभा र अन्तर्राष्ट्रिय पहिचानको प्रतिबिम्ब हो। देशका कुनाकाप्चाबाट आएका किशोर–किशोरीहरूले विश्वस्तरीय मञ्चमा देखाएको सामर्थ्यले भविष्यमा नेपालको शैक्षिक उचाइ थप उज्यालो हुने सम्भावना संकेत गरेको छ।


प्रतिक्रिया

Gaurav Bhatta ४ श्रावण २०८२, शनिबार

good job

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार