काठमाडौं । सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानुनविपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले मापदण्ड नै बनाएर श्रमिकहरूको मानवअधिकार हनन हुन नदिने गरी कार्ययोजनासहित काम गरिरहेको स्पष्ट पारे ।
"न्यूनतम ज्याला प्रत्येक मानिसले पाउनुपर्दछ । त्यसैले नेपाल सरकारले न्यूनतम ज्यालाको सुनिश्चितता गरेको छ । त्योभन्दा कम ज्याला दिएर काममा लगाउनु भनेको कानुनविपरीत हुन्छ । त्यसमा कानुनका विभिन्न बुँदाहरू आकर्षित हुने सम्भावना हुन्छ," उनले भने ।
सचिव काफ्लेले श्रमका लागि बाहिर गएका नागरिकहरूको मानवअधिकार हनन हुन नदिन सरकार प्रतिबद्ध रहेका बताए ।