हेटौंडा । नेपाल बैंक लिमिटेडको बागमती प्रदेश राजधानी हेटौंडा उपमहानगरपालिका–४ स्थित नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार एक समारोहबीच उक्त भवनको समुद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंकको गौरवमय इतिहास रहेको उल्लेख गर्दै आफ्नै आधुनिक भवनबाट गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न थालेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगसँगै सेवाको गुणस्तर र पहुँच विस्तारमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले डिजिटल बैंकिङको युगमा बैंकले अत्याधुनिक प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले ग्राहकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन बैंक प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख (मेयर) मीना कुमारी लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, बैंकका प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्लेलगायत बैंकका प्रतिनिधि तथा बागमती प्रदेशका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल बैंकले अपाङ्गमैत्री सेवा सहित आधुनिक बैंकिङ सुविधा विस्तार गर्दै आएको भन्दै थप प्रभावकारी सेवा प्रवाहका लागि शुभकामना व्यक्त गरेका थिए ।
हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधि, दक्ष जनशक्ति र सुधारिएको ग्राहक सेवामार्फत प्रतिस्पर्धी बैंकिङ सेवा विस्तार गरिरहेको जनाएको छ ।
नेपालको पहिलो बैंकका रूपमा स्थापित नेपाल बैंकले डिजिटल प्रविधिको प्रयोग बढाउँदै वित्तीय पहुँच विस्तार र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ ।