काठमाडौं। २८ दिन पछि नागढुंगा सुरुङमार्गमा स्थानीयहरूको अवरोध नहटेपछि प्रहरी परिचालन गरी निर्माण थालिएको छ । स्थानीयहरू सहमतिमा आउन नमानेपछि प्रहरी परिचालन गरी निर्माण थालिएको आयोजनाले जनाएको छ ।
‘उहाँहरूको माग पुरा गर्ने भन्दा पनि सहमतिमा आउन मान्नुभएको थिएन,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले भने, ‘सुरक्षाका लागि अहिले प्रहरी परिचालन गरी काम अघि बढाइएको छ । करिब १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि निर्माण कार्य सुरु गरेका छौँ ।’
गत चैत ३ गते चन्द्रागिरि नगरपालिका २ का स्थानीयहरूले निर्माणमा अवरोध गरेका थिए। चर्किएका घरको उचित क्षतिपूर्ति दिनुपर्ने, निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राख्दै स्थानीयले काममा अवरोध गर्ने गरेका थिए ।