काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिप्रति सकारात्मक देखिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।
समिति गठन गरेकोमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सकारात्मक कदम भएतापनि समितिको कार्यक्षेत्र हेरेर मात्र थप धारणा बनाउने जानकारी दिनुभयो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत संलग्न रहेको आरोप लगाउँदै माओवादीले रास्वपा र नेकपा एकीकृत समाजवादीसँग मिलेर १८ दिन संसद् अवरोध गरेको थियो। जेठ ३० गते सत्तापक्षसँग दुई बुँदे सहमति भएपछि संसद्को अवरोध हटाएको थियो। यस्तै संसदमा पेस भएको आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्ने विषयमा माओवादीका सांसदहरूलाई ह्विप जारी नगरिएको बताए ।