काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण तीव्र पारेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घरेलु हतियार उत्पादन बढाउन पश्चिमा राष्ट्रसँग यो वर्षको अन्त्यसम्ममा करिब ३० अर्ब डलर मागेका छन्।
अमेरिकाले दिँदै आएको हतियार सहायता राष्ट्रपति डोनाल्ड ट्रम्पले घटाउँदै लैजाने अपेक्षा गरिएकाले आफै हतियार उत्पादन गर्नुपर्ने निष्कर्षमा युक्रेन पुगिसकेको छ। अहिले पनि युक्रेनले ठूलो मात्रामा उत्कृष्ट ड्रोन बनाइरहेको छ। पुटिनले युद्ध रोक्ने छाँट नदेखिएकाले युक्रेनले अरू हतियार पनि आफै बनाउने उद्देश्य लिएको छ।
केही युरोपेली देशले युक्रेनलाई हतियारको साटो हतियार बनाउन पैसा दिने नीति अझ प्रभावकारी हुने बताउँदै आएका छन्। आफूले बनाएको गोलाबारूद लगायत मध्यम गुणस्तरका मिसाइल युक्रेनलाई दिनुभन्दा त्यस्ता हतियार युक्रेनलाई नै बनाउन लगानी गर्दा उत्ति नै पैसामा अझ धेरै हतियार उत्पादन हुने उनीहरूको जिकिर छ।
त्यही नीति अनुसार युक्रेनको ड्रोन लगायत अन्य हतियार बनाउने क्षमता भए पनि स्रोतका कमीले गर्दा पूर्ण क्षमताको उपयोग गर्न नपाएको भन्दै जेलेन्स्कीले करिब ३० अर्ब डलर मागेका हुन्। त्यसका लागि युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा राष्ट्रले रोक्का गरेको करिब तीन खर्ब डलरको रूसी सम्पत्तिबाट पैसा दिन सकिने उनले बताएका छन्।
जर्मन चान्सलर फ्रेडरिक मर्जलाई भेट्न आजै बर्लिन जान लागेको जेलेन्सकीले भेटका क्रममा अरू विषयसँगै हतियार बनाउन चाहिने पैसाको बारेमा पनि कुरा गर्ने अपेक्षा गरिएको छ। पुटिनले युद्ध रोक्न नमानेर उल्टै युक्रेनमाथि भीषण आक्रमण गर्न थालेपछि अमेरिका लगायत पश्चिमा राष्ट्रले आफूले दिएको हतियार प्रयोगमा युक्रेनलाई लगाएको दुरीसम्बन्धी सबै बन्देज पनि हालै हटाएका छन्।
जर्मनी, बेलायत, फ्रान्स र अमेरिका लगायत युक्रेनलाई सहायता गरिरहेका पश्चिमा देशहरूले रूसबाट आफूलाई जोगाउनका लागि युक्रेनमाथि हतियार प्रयोगमा लगाएको दुरीजन्य बन्देज हटाएको जर्मन चान्सलर फ्रेडरिक मर्जले खुलासा गरेका छन्।
‘युक्रेनलाई आपूर्ति गरिएका हतियारहरूमा अब कुनै दुरीजन्य प्रतिबन्धहरू छैनन्। न त बेलायती, न त फ्रान्सेली, न त हाम्रो, न त अमेरिकी,’ रूसले युक्रेनमाथि सबभन्दा ठूलो ड्रोन आक्रमण गरेपछि मर्जले बताएको भनेर विभिन्न पश्चिमा मिडियाले लेखेका छन्।
‘यसको मतलब युक्रेनले अब आफ्नो रक्षा गर्न सक्छ। उदाहरणका लागि, रूसमा रहेका सैन्य संरचनामा आक्रमण गरेर। केही अपवादहरू बाहेक, हालसम्म युक्रेनले त्यसो गरेको थिएन। अब उसले त्यसो गर्न सक्छ,’ मर्जले प्रष्ट पारे। रूसले सो निर्णयलाई खतरनाक भन्दै यसले कुनै पनि प्रकारको शान्ति सम्झौतामा बाधा पार्ने बतायो।
‘यदि यी निर्णयहरू वास्तवमै गरिएका छन् भने ती हाम्रो राजनीतिक समाधानको आकांक्षासँग पूर्ण रूपमा बाँझिन्छन्,’ रूसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने।
पूर्वअमेरिकी राष्ट्रपति बाइडेनको पालामा अमेरिकाले हतियार दिँदा सुरूमा युक्रेनलाई आफ्नो हतियार रूसी भूमिभित्र प्रयोग नगर्ने सर्त राखेर दिने गर्थ्यो। त्यस्तो अनुमति दिए रूसले पश्चिमाहरूमाथि नै प्रहार गर्ने वा युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्ने डरका कारण बाइडेनले अनुमति दिएका थिएनन्।
त्यसपछि गत वर्ष मे महिनाको अन्त्यमा मात्रै अमेरिकी हतियार प्रयोग गरेर रूसी भूमिमा आक्रमण गर्न युक्रेनलाई बाइडेनले अनुमति दिएका थिए। त्यस्तो अनुमति दिँदा पनि खार्किभ वरिपरि जम्मा भएर आक्रमण गरिरहेका र गर्न लागेका सेनामाथि मात्रै प्रयोग गर्ने सर्तमा दिएको थियो।
गत वर्षको अन्त्यमा उत्तर कोरियाका १० हजारभन्दा बढी सैनिक रूसका तर्फबाट लड्ने पक्का भएपछि बाइडेनले अन्ततः उनीहरू र रूसी सेनालाई निशाना बनाएर युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएका थिए। त्यसो गर्दा पनि कति टाढा प्रहार गर्ने भन्ने सीमा हुन्थ्यो र अमेरिकाको अनुमति लिएर मात्रै युक्रेनले ती हतियार प्रयोग गर्थ्यो। अरू पश्चिमा राष्ट्रले पनि अमेरिकी सरकारले लिने नीति अनुसार नै अनुमति दिने गर्थे। अब भने युक्रनेलाई दुरीजन्य केही पनि बन्देज हुने छैन।