काठमाडौं। मंगलवार नेपाली सेयर बजारमा परिसूचक नेप्से १९.७० अंकले बढेर २८५१ अंकमा पुगेको छ। अघिल्ला दुई दिनमा ११९ अंकको गिरावट आएपनि आज बजारलाई सान्त्वना दिएको छ। दिउँसो १२ः०६ बजे नेप्से २७८९ अंकसम्म झरेको थियो, जुन दिनभरको न्यूनतम विन्दु बनेको थियो।
कुल कारोबार रकम सामान्य रुपमा घटेको देखियो। अघिल्लो दिन १२ अर्ब ९६ करोडको कारोबार हुँदा, मंगलबार ११ अर्ब ११ करोड रुपैयाँमा सीमित रह्यो। आज १९५ कम्पनीको मूल्य बढ्दा ६३ कम्पनी घटेको छ भने ९ कम्पनी स्थिर रहे।
बजारका अधिकांश समूहगत सूचकहरू बढेका छन्। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १.९४ प्रतिशतले उकालो लाग्यो। अन्य प्रमुख समूहहरूको प्रदर्शन यस प्रकार छस् बैंकिङ ०.७६ प्रतिशत, विकास बैंक ०.९०, फाइनान्स १.१२, होटल तथा पर्यटन १.००, हाइड्रोपावर ०.७५, लगानी ०.५६, जीवन बीमा ०.५२, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.७६ र व्यापार ०.७४ प्रतिशतले बढे भने अन्य समूह ०.५५ प्रतिशतले घटेको छ।