पुलेन्द्र कार्की l मुलुकले लोकतान्त्रिक अभ्यास गरेको झण्डै साढे तीन दशक पुरा भएको छ। यस अवधिलाई चारवटा खण्डमा विभाजन गरी अध्ययन गर्दा, ०४६ देखि ०५१ को प्रारम्भिक अवधिमा पञ्चायत शासनले सुकेनास ग्रस्त बनाएको राष्ट्रिय अर्थतन्त्रलाई आर्थिक उदारीकरणको माध्यमबाट पोषित गर्दै, राष्ट्रिय संचित कोषमा तेज वृद्धि, आर्थिक वृद्धिदरमा दोहोरो अंकको वृद्धि, र राष्ट्रिय र अन्तर्राष्ट्रिय पूंजी परिचालनको अनुकूलता सिर्जना गर्दै राष्ट्रिय अर्थतन्त्रलाई सकारात्मक गतिशीलता तर्फ अघि बढाएको पाइन्छ।
अर्थशास्त्रविद्हरूका अनुसार हाम्रो अर्थव्यवस्थाले, पछिल्लो लामो द्वन्द्व र अस्थिरतालाई झेल्ने सम्हालो यहीं प्रारम्भिक अवधिको सवलताबाट प्राप्त गरेको मानिन्छ। तथापि, राज्यका संरचनाहरूमा चरम राजनीतिकरण, असहिष्णुता, पार्टी र नेताहरूबीच स्वार्थी घेरामा फस्नु र सुशासन कमजोर हुँदै जानु जस्ता विकृतिहरू पनि यसै अवधिका उपोत्पाद हुन् भन्नेमा दुईमत हुन सक्दैन। ०५२ देखि ०६२/०६३ को अवधिमा राजनीतिक संस्थापनमा खुलेआम भ्रष्टाचार, खरिद बिक्री, सवारी साधनको व्यापार, जालजेल र छलकपटको विकृत संस्कृति स्थापित भयो।
यस अवधिमा माओवादी विद्रोह अनुमानभन्दा तीव्र रूपमा विकसीत भयो, र राज्यको शक्ति संकुचन हुँदै राजधानी र सदरमुकामसम्म सीमित रह्यो, बाहेकका क्षेत्रहरू अघोषित रूपमा माओवादी नियन्त्रित थिए। यस अवधिमा संस्थापनका दलहरू, माओवादी र राजतन्त्रबीच द्वन्द्वको उपयोग गरेर एकअर्कालाई परास्त गर्ने, शक्तिको खेल चलिरह्यो। राजपरिवारको रहस्यमयी विनाश, राजा ज्ञानेन्द्रको "कु" र १७ हजार नेपालीहरूको हत्या सहितको गृहयुद्धको यो असहज कालखण्डमा, छिमेकी भारतले नेपालको परम्परागत अस्थिरताको नीति सिधै लागु गरिरहेको थियो। यद्यपि, जनस्तरमा व्यापक राजनीतिक चेतना जागरूक हुँदै गणतन्त्रको पूर्वाधार निर्माणमा यो अवधि अविस्मरणीय थियो।
०६२/०६३ देखि ०७२ सम्मको अवधिमा राजनीतिक र सामाजिक हिसाबले संक्रमणकालीन चरण थियो। सात दल र विद्रोही माओवादीबीच अभूतपूर्व एकता, २४० वर्षदेखि शासन गरेको राजतन्त्रको अन्त्य, संविधानसभा मार्फत संविधान जारी हुनु, द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियाको अघि बढाइने जस्ता ऐतिहासिक उपलब्धिहरू हासिल भए। यो समवेदनशील चरणमा गिरिजा प्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्डले नायकको भूमिका निर्वाह गरे।
०७२ देखि अहिले सम्मको अवधिमा संघीयता, समावेशी लोकतन्त्र र गणतन्त्र सहितको संविधान जारी भयो। यसका साथै, सर्वोत्कृष्ट लोकतान्त्रिक व्यवस्था स्थापनापछि परिवर्तनलाई संस्थागत गर्ने, नेपाली जनतालाई मुलुकको आर्थिक, भौतिक र सामाजिक समृद्धिमा अघि बढ्ने विश्वास जगाउने सुशासनयुक्त लोकतान्त्रिक अभ्यासको अपेक्षा थियो। तर, दुर्भाग्यवश, हाम्रो राजनीतिक नेतृत्वले आजसम्म त्यो विश्वास जगाउने कुनै ठोस कदम चालेको देखिंदैन। नेपाली जनताले दिएको सशक्त जनादेशलाई व्यक्तिगत स्वार्थले धुलोमाटो बनाइदिएको छ। सत्ता प्राप्तिका लागि कुनै पनि हदसम्म जान तयार नेताहरू, भ्रष्टाचारमा तीन तहका प्रतिनिधिहरूको संलग्नता, संवैधानिक अंग र प्राज्ञिक संस्थाहरूको भागबण्डा र वेचविखनको चक्रव्यूहले नेपालको लोकतन्त्र र गणतन्त्रलाई कमजोर बनाइरहेको छ।
लोकतन्त्र किन? यस प्रश्नको जवाफ सिधा यत्रा छ, लोकतन्त्र भनेको राज्यका सेवाहरू, सुविधाहरू र अवसरहरू जनतासम्म पुर्याउने प्रणाली हो। तर, वर्तमानमा के भइरहेको छ? हुम्ला, जुम्ला, दार्चुला जस्ता दुर्गम क्षेत्रबाट उपचारको लागि अस्पताल जाने बिरामीको भर्ना मन्त्रीको सिफारिस बिना सम्भव छैन। नतिजा, तल्लो तहका प्रहरी जवानहरूको कामसँग कुनै सम्बन्ध नराखी, नेताको दाम वा पहुँच बिना कुनै काम अघि बढ्न सक्दैन। यी विकृतिहरूलाई निराकरण गर्ने नेतृत्वको आवश्यकता छ। समाधान के हो? कसैले भने जस्तै राजा, कसैले भने जस्तै नयाँ, तर समाधान लोकतन्त्र भित्रको विकृतिमा नै छ। हाम्रो वर्तमान प्रणालीमा स-साना परिवर्तन मात्र पर्याप्त छैन; यो प्रणालीलाई थोकमा परिवर्तन गर्ने नेतृत्वको आवश्यकता छ।
- ०४७ सालपछि सार्वजनिक पदमा रहेका नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गरी कार्वाही गर्ने।
- महंगो र खर्चिलो निर्वाचन प्रक्रियालाई पूर्ण खारेज गरी खर्चविहीन निर्वाचन प्रक्रिया लागू गर्ने।
- भद्दा, खर्चिलो र नतिजाविहीन कर्मचारीतन्त्रलाई खारेज गरी परिणाममुखी कर्मचारीतन्त्र निर्माण गर्ने।
- अव्यवहारिक र नौकरीमुखी शिक्षा प्रणालीलाई खारेज गरी उत्पादनमुखी शिक्षा प्रणाली लागू गर्ने।
- सेना, प्रहरी लगायतका सुरक्षा निकायहरूलाई निर्माण कार्यमा जोड्ने।
यी र यस्ता अन्य कामहरू जसले लोकतन्त्रका माध्यमबाट नेपालीको जीवनलाई परिवर्तन गर्दछ, भ्रष्ट संस्कृतिलाई निषेध गर्दछ र चौतर्फी आशाको सञ्चार गर्दै सम्पूर्ण नेपालीहरूलाई राष्ट्र निर्माणमा एकाकार गराउँछन्, तिनलाई कार्यान्वयन गर्न सक्ने नेतृत्वको आवश्यकता छ।
नेपाली राजनीतिको मैदानमा गगन थापा एक मात्र नेता हुन् जसले थोकमा परिवर्तन र सुधार गर्ने हुटहुटी देखाएका छन्, जसले राष्ट्रिय जीवनका सबै क्षेत्रहरूमा परिवर्तनको होमवर्क तयार गरेका छन्, र जसको चरित्रमा निश्चलता र निर्णयमा अडिगता छ। उनले काँग्रेसको सभापतिको उम्मेदवारी समेत दिएका छन्। यदि काँग्रेसलाई सक्षम नेता आवश्यक छ भने, गगन थापाको नेतृत्वमा काँग्रेसलाई अघि बढाउन सकिन्छ।
लेखक नेपाली कांग्रेस दार्चुला जिल्ला कार्यसमिति सचिव हुन् ।
विद्यार्थी