जानिराख्नुहोस् गण्डकी प्रदेशका उत्कृष्ट गन्तब्य

Nagarik Sewa 289+ समाचार ( )
२१ कार्तिक २०८१, बुधवार

काठमाडौं । प्राचीन धर्म, कला र सभ्यताको पनि जननी मानिन्छ, गण्डकी प्रदेश । मिश्रित जातजाति र धर्मवालम्बीहरुको बसोबास रहेको यो प्रदेश सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी गण्डकीका सांस्कृतिक धरोहर हुन् । यहाँ रहेका माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि, मनाश्लु जस्ता हिमशृङ्खला, नदी, तालतलैया, झरना आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् ।

संसारकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल, तालतलैयाको सहर पोखरा, शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी आदिले गण्डकी प्रदेशको गौरव बढाएका छन् । मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, बागलुङ कालिका भगवती, गलेश्वरधाम, देवघाट, सेतीवेणी, त्रिवेणीधामलगायतका पवित्रस्थलले धार्मिक गन्तव्यको चिनारी बोकेका छन् ।

मध्यकालीन शाहवंशीय इतिहासको साक्षी गोरखा दरबार, उपल्लो मुस्ताङको प्राचीन लोमान्थाङ दरबार र मुक्तिनाथ क्षेत्रका गुफालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको छ । साहसिक पर्यटन गतिविधिमा पनि गण्डकीको नाम अघि आउँछ । पर्वत र बागलुङमा पर्ने विश्वकै दोस्रो अग्लो बन्जी, प्याराग्लाइडिङ, क्यानोनिङ जस्ता साहसिक खेलले यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । देशकै पहिलो पर्यटन गाउँ सिरुबारी पनि यही प्रदेशमा पर्छ ।

स्याङ्जाका रुद्रमान गुरुङले २०५४ मा पहिलोपटक ग्रामीण पर्यटनको अवधारणा नेपाल भित्राउनुभएको थियो । पछिल्लो समय प्रदेशका ११ वटै जिल्लामा विस्तारित घरबास (होमस्टे) कार्यक्रमले ग्रामीण पर्यटनको उत्थानमा महत्त्वपूर्ण टेवा पुर्‍याएको छ । जनजाति बाहुल्य समुदायमा घरबास सञ्चालित छन् । गाउँले जनजीवन, खानपान, घुमफिर र मौलिक संस्कृति घरबासका आकर्षण हुन् ।

यी हुन् गण्डकीका गन्तव्य

कास्कीमा फेवाताल, बेगनासताल, रुपाताललगायत विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन् । पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् । हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्वशान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् । घान्द्रुक, धम्पुस, सिक्लेस, ल्वाङलगायतका पर्यटकीय गाउँ लोभलाग्दा छन् । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै, कोरी आदि क्षेत्र पदयात्राका लागि प्रसिद्ध मानिन्छन् ।

बागलुङका पर्यटकीय गन्तव्यहरूमा कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष,  विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुन्डे, गाजाको दहलगायत पर्छन् । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष भएको क्षेत्र हो । बर्सेनि दुई याममा उक्त आरक्षमा वन्यजन्तुको वैधानिक सिकार गरिन्छ । साहसिक र रोमाञ्चक सिकार अनुभवका लागि विदेशी सिकारीहरू ढोरपाटन पुग्नछन् । ढोरपाटन उपत्यका, बुकी, भुटानी शरणार्थी बस्तीलगायतले पनि त्यस क्षेत्रको आकर्षण बढाएका छन् ।

तिलिचो ताल, अन्नपूर्ण पदमार्ग जस्ता प्राकृतिक सम्पदा, हिमाजी जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकीय रोजाइमा पर्ने गर्छ । मनाङ हुँदै थोरङ भञ्ज्याङ पार गरेर पर्यटक मुस्ताङ छिर्ने गरेका छन् । मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, कोरला नाका, प्राचीन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन् । मुक्तिनाथ विश्वभरका हिन्दु धर्मवालम्बीहरुमाझ प्रसिद्ध छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मुस्ताङ पदयात्राका लागि पनि उत्कृष्ट गन्तव्य मानिन्छ ।

म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ । धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्ध गल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् । पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन् । अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ । निजी क्षेत्रको लगानीमा सञ्चालित बन्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ ।

पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छाया क्षेत्र, शाल्मे–डाँडा जस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन् । राम्दीघाट, मिर्मी जस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन् । लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन् । ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनाश्लु हिमाल, मनाश्लु संरक्षण क्षेत्र जस्ता ठाउँले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन् ।

व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन् । मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुली जस्ता ठाउँ नवलपुरका आकर्षण हुन् । प्रदेश सरकारले पाँच वर्षअघि प्रदेशका ११ वटै जिल्लाका दश÷दश गरी एक सय १० गन्तव्य पहिचान गरी सूचीकृत गरेको थियो । गत वर्ष चैतमा गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार