काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरूलाई सवारीसाधनका रूपमा साइकलको व्यवस्था गरिनुपर्ने प्रस्ताव गरेका छन् । सरकारले अर्बौं रुपैयाँको गाडी खरिद गर्न लागेको समाचार बाहिर आएको भन्दै उनले त्यसनिम्ति साइकल उपयुक्त हुने जिकिर गरे ।
बिहीबार (असार १८) राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद विश्वकर्माले अर्बौंको गाडी जलाएर खरानी बनाइएको बताए । फेरि अर्बौंको गाडी खरिद गर्ने तयारी गरिएको भन्दै उनले आपत्ति जनाए ।
नागरिक सिटामोल खान नपाएर मर्नु पर्ने अवस्था रहेका बेला सरकारले सुखसयल र मनोरञ्जनका निम्ति गाडी खरिद गर्न लागेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे ।
सांसद विष्णुबहादुर विश्वकर्माको भनाइ पढ्नोस्–
सुशासनको वैशाखीमा अडिएको हाम्रो सरकारले अर्बौंको गाडीहरू किन्दै छ भन्ने कुराहरू आइराखेको छ । अर्बौंको गाडीहरू जलाएर खरानी बनाएको छ । र, फेरि अर्बौंको गाडी किन्दै छ भन्ने खबरले सनसनी पैदा गराएको छ । आज सुकुम्वासीहरू खाना नपाएर तड्पिरहेका छन् । सिटामोल नपाएर मर्नु परिराखेको छ । ओत लाग्न नपाएर बिरामी परिरहेका छन् । यो अवस्थालाई नहेरेर आफ्नो सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्दै छ । यो विडम्बना हो । हाम्रो नयाँ सरकारले नयाँ काम भनेको अब मन्त्री, सांसदहरू जेनजी हुनुहुन्छ, साइकल किन्नुपर्यो अब । साइकल किनेर सरर हिँड्ने । साइकलमा जाने, साइकलमा नै आउने । बरु, चन्दाबाट पुनर्निर्माण भए सिंहदरबार पनि यहीबाट निर्माण होस् । म यहीँ भन्न चाहन्छु हाम्रो सरकारलाई ।