काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अलिअलि नभनी नहुने भएकाले आफूले बोल्ने गरेको बताएका छन् । शुक्रबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले कतिपयले आफूलाई कम बोल्न सुझाउने गरेको पनि बताए । "मलाई धेरै नबोल, तिखो नबोल पनि भन्छन् । चर्को नबोल भन्छन्, मलाई गालीगलौज नगर पनि भन्छन्," उनले भने, "म परेँ रवि लामिछाने, अलिअलि नघोची हुँदैन ।”
उनले आफूमाथि प्रमाण छ भनिएको भए पनि अब आफूलाई त्यस्तो प्रमाण नचाहिएको बताए । “प्रमाण छ भनिएको आज ६५८ औँ दिन भएछ । चाहिएन प्रमाण भैगो," आफूमाथि लागेको सहकारीसम्बन्धी मुद्दाको खण्डन गर्दै उनले भने ।
उनले आफ्नो अन्तिम ईच्छा सोधिएको भन्दै आगामी निर्वाचनमा मतपत्रमा आफ्नो अन्तिम ईच्छा देखाइदिन मतदाताहरूलाई उनले आग्रह गरे ।