कान्ति न्यौपाने l विक्रम संवत् २०६२/०६३ को जनआन्दोलनमा म सानो थिएँ । मानिसले होहल्ला गरेको त बुझ्थेँ तर, किन केका लागि भन्ने मेरो बालमष्तिकले बुझेको थिएन । गाउँमा अहिलेझैँ सबैको हातमा मोबाइल थिएन, इन्टरनेटको पहुँच त झन् कल्पना नै गर्न सकिँदैनथ्यो । गाउँका दुई–चार जना गाउँका ठूलाठालु भन्ने परिवारसँग मात्र ब्ल्याक एण्ड ह्वाइट टिभी हुन्थ्यो र त्यही हेर्न मानिसको भीड लाग्थ्यो । काठमाडौँमा आन्दोलन उग्र बनेको छ, जनताले अधिकार मागेर बलिदानी पनि दिइसकेका छन् भन्ने कुरा अग्रजले गर्थे ।
म त बच्चा न थिएँ तर पनि, गाउँ पसेको त्यो आन्दोलनको माहौलले मेरो बाल्यकालमा अकल्पनीय छाप छोड्यो । दिन बित्दै गयो, आन्दोलनले काठमाडौँलाई मात्र होइन, गाउँघरको मनोविज्ञानलाई पनि त्यत्तिकै प्रभाव पारेको थियो । घरघरमा राजनीतिको कुरा मात्रै हुन्थे, मानिसले आशा र डर दुवै बोकेर रात काट्थे । रेडियोमा बज्ने समाचारले मन तान्थ्योर्, सिंहदरबार घेरिएको छ, जनताको आवाज सडकमा गुञ्जिएको छ ।’
त्यो बेलादेखि सिंहदरबार भन्ने शब्द मेरो बालमष्तिष्कमा बसिरहेको थियो । कस्तो होला सिंहदरबार? कस्ता मान्छे बस्छन् होला भन्ने प्रश्नहरुको घेरासँगै पछि मेरो कर्मथलो नै सिंहदरबार बन्यो । शुरुसुरुमा सिंहदरबार पस्न पाउँदा त सानोतिनो युद्ध जितेकै अनुभव हुन्थ्योँ ।
तर, मेरा लागि सिंहदबार काम गर्ने र तलब थाप्ने स्थान मात्रै रहेन, एउटा बृहत् ज्ञानको पाठशाला बन्यो । ऐतिहासिक कलाकृति हेर्न पाउनेदेखि, देश बनाउने मन्त्रालयहरु, बौद्धिक, बिचौलिया लगायत सबैलाई त्यहाँ गएर हेर्ने चिन्ने र धेरै विषयसँग केही मात्रामा भएपनि जानकार हुने अवसर पनि पाएँ । विस्तारै बनेका अत्याधुनिक भवन र सफा, सुन्दर बगैँचाले सिंहदरबारको सुन्दरता थपेकै थियो, वसन्त ऋतुमा फुल्ने फूलहरुले पनि यहाँको शोभा बढाउन मद्दत गरिरहेकै थिए ।
त्यहीबीचमा अचानक भ्रष्टाचारविरोधी अभियानलाई लिएर सामाजिक सञ्जालमा नेपो बेबी भन्दै उच्चपदस्थ नेता तथा कर्मचारीको छोराछोरी र नातिनातिनासम्मको विलाशी जीवनशैलीलाई लिएर प्रश्नहरु सुरु भए । हाम्रो करको पैसाले उनीहरुले मोजमस्ती गरेको भन्दै त्यसको विरुद्धमा माहौल बन्दै थियो त्यही बेला सरकारले दर्ता नभएको भन्दै फेसबुक सहितका २६ वटा सामाजिक सञ्जाल बन्द ग¥यो । यसले कैयन मानिसहरु खासगरी स्वदेशमै बसेर काम गनेै युवाहरुलाई वेरोजगार बनायो र उनीहरु समेत सरकारसँग आक्रोशित बन्न पुगे । यही समयमा भ्रष्टाचार र कुशासनको विरोध तथा सामाजिक सञ्चाल माथिको प्रतिबन्ध फुकुवाको माग सहित “जेन जी समूह”ले आन्दोलनका कार्यक्रमहरु घोषणा ग¥यो । जेन जी सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूको समूह हो । अंग्रेजीको जेनेरेसन श लाई छोटकरीमा जेन जी भनिएको हो । प्रविधिसँगै हुर्किएको यो पुस्तालाई भाग्यमानी जेनेरेसन मानिन्छ ।
भदौ २३ गते जेन जी समूहको नेतृत्वमा भएको आन्दोलनमा मेरो पनि समर्थन रह्यो । एक त म त्यो समूहभित्रको अनि अर्को भ्रष्ट्राचारले देशलाई नराम्रोसँग गाँजेकोले प्रगति हुन सकेन भनेर म पनि निराश भएको थिएँ । आन्दोलनमा बिहानबाटै चहलपहल सुरु भयो । देशभरि आन्दोलनको आवहन गरिएकाले उक्त उमेर समूह मात्रै नभएर अन्य उमेर समूहका पनि आन्दोलनमा सक्रियतापूर्वक सहभागी भए । काठमाडौंमा विशाल जुलुससहित निस्किएको आन्दोलन माइतीघरबाट विस्तारै बानेश्वर अघि बढ्यो । संसद घेराउको तयारी गरेपनि उक्त क्षेत्र भने निषेधित क्षेत्र मानिन्थ्यो र अहिलेसम्म कुनै समूहले पनि निषेधित क्षेत्रको त्यो घेरा तोड्न सकेको थिएन ।
म पनि उत्साहपूर्वक आन्दोलनमा थिएँ । हजारौँ युवाहरु जम्मा भएको उक्त समूहले सहजै निषेधित घेरा तोडेर संसद भवन अगाडि पुग्यो । त्यसपछि नेताहरुप्रति आक्रोशले भरिएको समूह विस्तारै संसद भवनतर्फ अघि बढ्यो र भित्र पस्न खोज्यो । सयौँ पुलिसहरु तैनाथ भएपनि युवाहरु भटाभट संसद छिर्न थाले । त्यतिबेलासम्म पनि प्रहरीले जति बल प्रयोग गरेर रोक्नुपर्ने थियो त्यति बल प्रयोग गरेन अर्थात आन्दोलनकारीले थोरै मात्र बल गर्दा संसदभवनभित्रै पुग्ने स्थिति बन्यो । शायद त्यतिबेला भने प्रहरीलाई दबाब प¥यो अनि विस्तारै झडप सुरु भयो । अश्रुग्याँस पनि प्रहार हुनथाले ।
त्यतिले मात्रै नपुगेर केहीबेरमै गोली चल्न थाले अनि स्कुल ड्रेसमै आएका कतिपय कलिला युवाहरु फटाफट मारिन थाले । सयौँ घाइते भए, नजिकै रहेको सिभिल अस्पतालमा घाइते राखेर उपचार गर्ने ठाउँ भएन कतिपय घाइतेहरु अर्को अस्पतालमा रिफर गर्दागर्दै मृतक घोषित भए । कतिपय पत्रकारहरु पनि गम्भीर घाइते भए, बेलुकीसम्म त १९ जना मृत्यु भएको र सयौँ घाइते भएको समाचार सहित कहालीलाग्दो भिडियोहरु आउन थाले । अनि सरकारले करफ्र्यु पनि लगाएको घोषणा ग¥यो । कलिला बच्चा गोली हानेर मारिएपछि, ती भयावह दृश्य सामाजिक सञ्जालमा देखिएपछि र तत्कालीन प्रधानमन्त्री केपी ओलीले यति भयावह घटनापछि पनि गम्भीर बनेर राजीनामा दिने र क्षमा माग्ने नगरेपछि भोलिपल्ट यति भयावह भयो कि जुन इतिहासकै कालो दिन बन्यो ।
नवजवान युवाहरुले शुरु गरेको उक्त आन्दोलन उपत्यका तथा वरिपरिका सबै स्थानहरुका साथै देशभर चर्किन थाल्यो । हजारौँ मानिसहरु सडकमा आएर आन्दोलन सुरु गरे । एकैछिनमा कफ्र्यु उल्लंघन भयो र केपी चोर देश छोड लगायत अपशब्दहरु पनि सडकमा गुञ्जिए । सडक भरिभराउ मात्रै भएन कतै पनि पुलिसको नियन्त्रणमा नहुने अवस्थामा पुग्यो र एक प्रकारले प्रहरी नै भाग्ने तथा आत्मसमर्पण गर्ने तहमा पुगे । भटाभट शीर्षस्थ नेता, मन्त्री र विभिन्न उच्चपदस्थ व्यक्तिका घरहरु जल्न थाले । घरमा हुनेहरुको भागाभाग सुरु भयो । नेताहरुले भ्रष्ट्राचार गरेर कमाएको सम्पत्ति जलाएको भन्दै धेरै नागरिकहरु खुसी पनि देखिए । अझ कैयौँ पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाका दम्पत्तीमाथि त निर्घात कुटपिट पनि भयो । त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमतीलाई घरभित्रै रहेको बेला आगलागी पनि गरियो । एकाएक देश पुरै अस्तब्यस्त भयो । त्यतिमात्रै नभएर पुलिसको बर्दीसहित हातहतियार खोसेर निर्घात कुटपिट र हत्या पनि गरियो । कतिपयको मैदानमै रक्तमुच्छेल भएर मरण भयो । जताजतै आगलागी, विनास र ध्वशंको मात्रै आवाज सुनिन थाल्यो ।
केहीबेरमै देश पुरै रणभूमिमा परिणत भयो । भाटभटेनी, सीजी, चन्द्रागिरि, होटल हिल्टन लगायतका थुप्रै उद्योग तथा नीजि कम्पनीहरुमा लुटपाट सहित आगलागी सुरु भए । त्यतिले पनि त्यो समूह रोकिएन अनि बानेश्वर परिसरमा रहेको संसद भवनमा आगलागी भयो । पुरै संरचना ध्वस्त भए । युवाहरु त्यहीँ ओलीसहितका नेताहरुलाई गाली गर्दै उत्सव मनाउन थाले । त्यसपछि विस्तारै वरपर रहेका सडक विभाग, वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत, सर्वोच्च अदालतमा आगलागी सुरु भयो । जुन रामायणमा रावणको लंका जलेको कहानी भन्दा कम पक्कै थिएन । अनि सुरु भयो देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगलागी । अरु संरचना जल्दा नराम्रो त लागेकै थियो, तर सिंहदरबार जल्दा भने मुटु नै छियाछिया भएको अनुभूति भयो । सानैदेखि सपनाको स्थान लागेको सिंहदरबार सबै ध्वस्त हुनथाल्यो । भीड नियन्त्रित थिएन र यसले राष्ट्रपति निवास शीतल निवासमा समेत प्रवेश गरेर तोडफोड तथा आगजनी गर्यो । ।
पुलिसहरु धेरै कुटिएर मारिएपछि कोही पनि आउन सक्ने अवस्था थिएन । यी सबै घटनामा आश्चर्यको कुरा के छ भने प्रहरीले सकेको बल प्रयोग गरेन भने त्यति ठूलो राष्ट्रिय सम्पत्तिको क्षति हुँदा पनि नेपाली सेनाले कुनै प्रकारले पनि त्यो जोगाउने कोशिस गरेन । कतिपय स्थानमा त सेनाले नेपाल प्रहरीलाई होइन आन्दोलनकारीलाई सहयोग र सहजीकरण गरेको भन्ने आरोप लागेको छ । जसले सिंहदरबार जलाउन उक्साए, संसद लगायत सावर्जनिक संरचना जलाउन उक्साए ती कोही पनि मैदानमा देखिएनन् । अवस्था अत्यन्तै चिन्ताजनक भयो ।
अर्कोतिर जेन जीले छुटाएको बहानामा रास्वपाका सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएपछि उनीसँगै हजारौँ कैदीबन्दी देशभरिबाट निस्किए । प्रहरी कार्यालय सबै जलाइए, केही जिल्लामा रहेका कैदीबन्दीलाई पनि पुलिसले थुनेर राख्न हम्मेहम्मे पर्यो । । त्यतिमात्रै होइन, आफूविरुद्ध लेखेको भनेर पटकपटक आरोप लगाएर बाह्रभाइ भनेर संज्ञा दिदैँ आएकै रविको अभिव्यक्तिकै कारण कान्तिपुर मिडियाको तीनकुने र थापाथलीमा रहेको अफिस ध्वस्त भयो । कतिपय बल्ल बल्ल ज्यान जोगाएर भागे भने निर्दोष व्यक्तिको पनि बाइक, गाडी र सम्पत्ति आगो हुँदै खरानीमा परिणत भयो । नेताको घर जलाउने नाममा घरबेटीको समेत घर जलाइए ।
देश जलेपछि आकाश पुरै धुँवाले कुइरीमण्डल भयो । घरवरिपरि कुकुर एकोहोरो भुकिँरहेका थिए भने जताततैबाट डडेको, ध्वस्त भएको र पड्किएको मात्रै आवाज आउन थाले । आफूले जीवनमा नसाेंचेको देश जलिरहेको दृश्यले धेरै नागरिकहरु कैयौँ दिन सुत्न सकेनन् किनभने काठमाडौँ मात्रै नभएर देशभरिकै सरकारी संरचना, नगरपालिका, वडा र नेताको घर खरानीमा परिणत भइसकेका थिए । दोषीमात्रै नभएर निर्दोषले पनि सजायको भागिदार हुनुपरेको दृश्य साँच्चै हृदयविदारक थियो ।
सिंहदरबार प्रशासनिक भवन मात्रै होइन, यो त हाम्रो राज्यको आत्मा थियो—इतिहास, धरोहर र विश्वलाई देखाउने हाम्रो गौरव थियो । त्यही गौरव जब आँखै अगाडि खरानीमा बदलिँदै गयो, मनमा अकल्पनीय पीडा र छट्पटिले के गरौँ, कसो गरौँ भयो । मैले केही समय पहिले सार्वजनिक विदाको दिन आफ्नी श्रीमति बोकेको सरकारी नम्बरप्लेट भएको गाडिलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर जाँच गरेको आक्रोशमा सिंहदरबार जलाईदिन्छु भनेर काठमाडौंका मेयरले लेखेको सामाजिक सञ्जालको स्टाटस सम्झिएँ अनि त्यसैगरी अर्को प्रसङ्गमा फोहरजती सिंहदरबारमा थुपारीदिन्छु भनेर लेखेको सम्झिएँ । युवा पुस्ताले आदर्श मानेको एकजना अगुवाले कुनै पनि शासक वा प्रशासकको विरोध गर्दा उसको प्रवृत्ति र कार्यको सट्टा उसले काम गर्ने संस्थाको भौतिक संरचना तथा स्थानको विरोध गर्दा उक्त भौतिक संरचना वा स्थानप्रति नै कति धेरै नकारात्मक भाव पैदा हुँदो रहेछ र मौका आउँदा निर्दोष संरचना ध्वस्त गर्न मानिस कसरी उद्दत हुँदा रहेछन् भनेर आँखै अगाडि देखेँ ।
मलाई लाग्यो यो महानगर हो यहाँबाट ५ मीनेटको दुरीमा दमकलहरु छन् र यो आगो निभाउन दमकलहरु आइहाल्छन् । तर, विडम्बना न त्यहाँ महानगरले दमकल पठायो न त सुरक्षा निकायले नै । आखिर निरीह भएर हेर्ने बाहेक त्यो भीडमा मैले गर्नसक्ने के थियो र? अनि गह्रुंगो मन गरेर जल्दै गरेको भवन अगाडि बसेर एउटा तस्बिर लिए ।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जल्दै गर्दा लाग्यो—देश नै सकियो, भविष्य नै समाप्त भयो । ढुंगा, ईँटा र काठमात्रै जलेको थिएन, हाम्रो विश्वास, हाम्रो सपना र हाम्रो पहिचान र अभिलेख पनि जलेर खरानी बन्दै थियो । दिनहुँ हजारौँ युवा बाहिरिरहँदा पनि देशमा केही गर्छु भनेर बसेको युवाको मनोबल एकाएक जिरोमा परिणत भयो ।
खरानी हुँदै गरेका प्रशासकीय भवनकाबीचमा उभिँदा मैले आफैँलाई प्रश्न गर्रे मैले किन जेन जीको आन्दोलनलाई समर्थन गरेँ ? के यो मेरो गल्ती थियो ? आगोले धुवाँ बनेर आकाश ढाक्दै गर्दा मेरो भित्री अन्तरआात्मा ग्लानीले चिच्याइरहेको थियो ।
त्यो क्षण, मानौँ आकाशै मेरो टाउकामा खसेको छ । भवनहरू जल्दै गर्दा मेरो आत्मा पनि भत्किँदै थियो । म भित्रभित्रै चिच्याएर रुन चाहन्थेँ, तर आवाज बाहिर निकाल्ने सामथ्र्य थिएन—भाषा नपुग्ने पीडा थियो त्यो । आन्दोलन त हामीले भ्रष्ट्राचारको अन्त्य, सुशासन कायम र सामाजिक सञ्जालको प्रतिबन्ध हटाउनका लागि गरेका थियौँ । तर परिवर्तनको नाममा आफ्नै इतिहास, गौरव र पहिचान जलिरहेको देख्दा, लाग्यो— जसले परिवर्तनका नाममा हाम्रो धरोहर, अभिलेख र सावर्जनिक सम्पत्ति जलाए त्यो इतिहासकै सबैभन्दा ठूलो महागल्ती हो । यस्तो निकृष्ट कार्यमा लाग्नेहरूलाई इतिहासले कहिल्यै माफी दिने छैन ।
अन्त्यमा, अहिले पनि मेरो मनमा केही प्रश्नहरु गहिरो गरी गढिरहेका छन्, जसको उत्तर मैले पाउन सकिरहेको छैन, जस्तैः पहिलो दिनको प्रदर्शनलाई प्रहरिले शुरुमै किन सहजै वा कुनै प्रकारको बल प्रयोग नगरी निषेधित क्षेत्र तथा संसद भवनसम्मै प्रवेश गर्न दियो र पछि अन्धाधुन्ध गोली चलायो ? गोली चलाउनुभन्दा पहिले भिड नियन्त्रण सम्बन्धी अन्य प्रोटोकलहरु किन अवलम्बन गरिएन ? कतै यो हिंसा भडकाउने सुनुयोजित षडयन्त्र त थिएन ? दोस्रो दिनसम्म आइपुग्दा प्रहरी किन यसरी रक्षात्मक हुनपुग्यो र आफ्नै कार्यालय, हतियार, बर्दी तथा बन्दोवस्तीका सामग्रीको सुरक्षा गर्न नसक्ने अवस्था बन्यो ? के नेपाल प्रहरी यति कमजोर संरचना हो त ? कि यसलाई अन्य सुरक्षा निकायद्वारा व्यापक दबाबमा प्यारालाइज गरियो ? त्यति ठूलो नरसंहार एवम् आफ्नै आँखा अगाडि नीजि तथा सार्वजनिक संरचना ध्वस्त हुँदासम्म नेपाली सेनाले किन कुनैपनि प्रकारको रक्षात्मक कदम चालेन ?
के नेपाली सेनाले चाहेको भए सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत सहितका महत्वपूर्ण संरचना ध्वस्त हुनबाट जोगाउन सक्थेन ? दोस्रो दिन राती १० बजेबाट परिचालन हुँनासाथ कुनै पनि घट्ना हुन नदिने सेनाले पहिलो दिन प्रधानमन्त्रीको राजीनामा हुनासाथ परिचालित भएर सार्वजनिक सम्पत्तीको रक्षा किन नगरेको ? आगलागि हुनासाथ महानगर तथा सुरक्षा निकायका दमकलहरु अग्नी नियन्त्रण गर्न किन आएनन् र राती १० बजेसम्म हेरिरहे ? अहिंसात्मक तथा शान्तिपूर्ण प्रदर्शन गर्ने भनेको जेन जी समूहको आन्दोलनले कसरी निषेधित क्षेत्रको व्यारिकेट तोडेर संसद भवनभित्र गयो ? यसो गर्ने वास्तविक जेन जी थिए कि यसमा कसैको योजनाबद्ध घुसपैठ थियो जसले आन्दोलनलाई उत्तेजित गरी हिंसा भडकायो ? कसरी उपत्यका सहित देशभर नेताहरुका घर एकै पटक सुव्यवस्थित रुपमा एकैपटक तोडफोड तथा जलाउने काम संभव भयो ?
कतै जनतामा उत्पन्न निराशाको जगमा टेकेर अनि जेन जीको आन्दोलनलाई प्रयोग गरेर हिंसा भड्काउने तथा आफ्नो नीहित स्वार्थ पूरा गर्ने तत्वको सुव्यवस्थित योजनामा यो भएको त होइन ? यदि त्यसो हो भने ती स्वदेशी मात्र थिए कि विदेशी पनि थिए ? के श्रीलंका, बंगलादेश तथा इन्डोनेसियाका विद्रोहहरुसँग हाम्रो यो विद्रोहको कुनै सम्बन्ध छ ? .... यस्ता अनेकौं प्रश्नहरु मेरो मनमा अहिले पनि खेलिरहेका छन्, जसको उत्तर आगामी दिनमा मैले चित्त बुझ्दो जवाफ नपाएसम्म खोजीरहने छु । यो मेरो भावना मात्र हो, जुन दिन उल्लेखित प्रश्नहरुको चित्त बुझ्दो जवाफ पाउने छु त्यही दिन ‘नेपालको जेन जी आन्दोलन र वास्तविकता’ शीर्षकमा पूर्ण लेख लेख्नेछु ।