काठमाडौं । इरानको राष्ट्रिय सुरक्षा परिषद्ले राजधानी तेहरानका बासिन्दाहरूलाई सहर छोडेर जान सल्लाह दिएको छ । देशको सुरक्षा निकायले विज्ञप्ति जारी गर्दै भनेको छ, “वर्तमान परिस्थितिका कारण, सम्भव भएसम्म र धैर्यता कायम राख्दै, यदि तपाईंहरू सक्षम हुनुहुन्छ भने अन्य स्थान र सहरहरूतर्फ जानुहोस् ।”
यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आज बिहान अमेरिका र इजरायलको आक्रमणमा इरानका धेरै सहरहरू निशानामा परेका छन् । यी आक्रमणहरू मुख्यतया देशको मध्य तथा उत्तर–पश्चिमी क्षेत्रहरूमा केन्द्रित रहेको बताइएको छ ।
हालसम्म प्राप्त जानकारीअनुसार आक्रमण भएका स्थानहरूमा तेहरान, केर्मनशाह, कोम, इस्फहान, ताब्रिज र काराज छन् ।
तेहरानमा सर्वोच्च नेता र राष्ट्रपतिको कार्यालय आसपास विष्फोट भएको छ । केर्मनशाहका सैन्य क्षेत्रहरूमा प्रहार भएको छ । कोम सहरमा रहेका सैन्य सुविधाहरू पनि निशानामा परेका छन् ।
इस्फहान सहरका सामरिक महत्वका क्षेत्रहरूमा आक्रमण भएको छ । इरानको उत्तर–पश्चिमी क्षेत्रको प्रमुख सहर ताब्रिजमा पनि आक्रमण भएको छ । तेहरान नजिकैको औद्योगिक तथा सैन्य क्षेत्र काराजमा पनि प्रहार भएको छ ।
दक्षिणी इरानको मिनाबस्थित एक प्राथमिक विद्यालयमा क्षति पुगेको छ । दक्षिणी तटमा अवस्थित कोनारकको नौसैनिक अड्डामा पनि आक्रमण भएको छ । कुर्दिस क्षेत्रको काम्यारानमा रहेको आईआरजीसीको आधार शिविरमा समेत आक्रमण भएको छ ।