काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् ।
भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।
छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’
दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ । पाकिस्तानका विदेश मन्त्री इसहाक डारले जियो टिभीसँगको कुराकानीमा भारतसँग भएको सहमति आंशिक नभई पूर्ण युद्धविराम सम्झौता भएको स्पष्ट पारेका छन्।
डारका अनुसार, यो सम्झौना पछि भारत र पाकिस्तानबीचको सैन्य संवाद र हटलाइन प्रणाली पनि सक्रिय गरिएको छ। कराँचीबाट अलजजिराका रिपोर्टर फारस घानीले बताएका अनुसार, युद्धविरामको घोषणा पाकिस्तानको दक्षिणी शहरमा स्वागत गरिएको छ ।
एक स्थानीय चिया पसलमा टीभीतिर टोलाउँदै बसेका अब्दुल शाहिदले भने, ‘अल्लाहलाई धन्यवाद छ । होस अझै बाँकी रहेछ।’उनले अगाडि थपे, ‘दुवै पक्षले आफ्नो शक्ति देखाउन खोजे, राष्ट्रिय सुरक्षाको सन्देश दिए, र कश्मीरबारे कडा संकेत पठाए ।’ उनको भनाइमा, पाकिस्तान यो टकरावबाट ‘अझ बलियो रुपमा बाहिरिएको’ देखियो, तर युद्ध दुवैका लागि निरर्थक हुने थियो।
अब सबैको ध्यान यो युद्धविरामपछि के हुन्छ भन्नेमा केन्द्रित हुनेछ। वरिष्ठ पत्रकार तलत हुसैनले भने, ‘नियन्त्रण रेखामा अब शान्ति फर्किने अपेक्षा छ। तर अब सेना हटाउने, तनाव घटाउने र गम्भीर कूटनीतिक संवाद सुरु गर्ने बेला हो ।’