काठमाडौं। चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ। सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव आगामी पुस १३ गतेसम्म सञ्चालन हुनेछ।
शुक्रबार आयोजित महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले गर्नुभएको छ। कार्यक्रममा पर्यटन, वन तथा वातावरण क्षेत्रका सरोकारवाला, स्थानीय व्यवसायी, पर्यटन उद्यमी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
हात्ती तथा पर्यटन महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउनु रहेको आयोजकले जनाएको छ। हाल करिब ४० प्रतिशत हाराहारीमा रहेको सौराहाका होटलहरूको अकुपेन्सी दर महोत्सव अवधिमा २० देखि २५ प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गरिएको छ।