काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताउनुभएको हो।
त्यस अवसरमा राष्ट्रपति पौडेलले शक्ति र पद हुँदैमा जोकोही पनि कानुन र जबाफदेहिताबाट मुक्त हुँदैन भन्ने अख्तियारले आम नागरिकमा विश्वास जागृत गराउन सक्नुपर्ने पनि बताउनुभयो । उहाँले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासन प्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार र निष्पक्ष सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । ‘सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचार तर्फ पुर्याउने राष्ट्रपतिको भनाइ छ ।
‘भ्रष्टाचारको प्रकृति र स्वरूप जसरी परिवर्तन भइरहेको छ त्यस अनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकीकरण गर्दै जानुपर्छ भन्ने मलाई लाग्छ’, राष्ट्रपतिले भन्नुभयो । उहाँले ठुला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसङ्गति देखिएको भनेर चिन्ता व्यक्त भइरहेको र त्यसमा राज्य पक्ष र अख्तियार गम्भीर बन्नुपर्ने बताउनुभयो ।