काठमाडौं। नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आजदेखि सुरु हुन लागेको छ। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। अनेरास्ववियुमा पहिलो पटक ३२ वर्षे उमेरहद लागू भएको छ।
जसले गर्दा अध्यक्षका हालका चार जना उपाध्यक्ष र एक जना महासचिव त्यो दौडबाट बाहिर छन् भने अध्यक्षका चार जना सचिवहरू प्रतिस्पर्धामा उत्रिएका छन्। नेकपा एमालेले भने सहमतिको आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएको छ । चार जनाले नै आफ्नो दाबेदारी नछाडेको खण्डमा भने मतदानमार्फत नेतृत्व चयन गरिने अध्यक्षका दाबेदार तथा हालका सचिव डाक्टर सुजन कडरियाले जानकारी दिए ।
३२ वर्षे उमेरहद लागू भएपछि पाँच जना सचिव मात्रै अध्यक्षका लागि दाबेदार मानिएका छन् । ती मध्ये आरती भट्टराईले महासचिवमा दाबी प्रस्तुत गरेकी छन् । हाल डा. कडरियासँगै प्रकाश पौडेल, दीपक धामी र अञ्जना सिवाकोटी अध्यक्षका आकाङ्क्षीका रूपमा अगाडि आएका हुन् । भट्टराईले सहमतिबाट नेतृत्व चयन हुने र आफू महासचिव बन्ने अवस्था आएमा पछि हट्ने बताउँदै आएकी हुन् ।
महाधिवेशनका लागि देशभरीबाट १५०० को हाराहारीमा प्रतिनिधिहरू आएका छन् । महाधिवेशनमा विधान संशोधन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा राजनीतिक प्रतिवेदन पेस गरिनेछ । यो पटक पदाधिकारी र केन्द्रीय सदस्यको संख्या घटाउने तयारी गरेको छ । १९९ सदस्यीय केन्द्रीय समितिलाई १५१ सदस्यीय बनाइनेछ । त्यस्तै १७ जना पदाधिकारी रहेकोमा ९ सदस्यीय बनाइने सचिव कडरियाले बताए ।