काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपाली विदेश जाँदा गर्ने खर्च १६.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार (कात्तिक ३०) सार्वजनिक गरेको ०८२ साउनदेखि असोजसम्म तीन महिनाको विवरणमा भनिएको छ, “समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।”
पछिल्ला तीन महिनामा नेपाली विद्यार्थी विदेश जाँदा मात्र ४२ अर्ब ९६ करोड रुपैयाँ विदेशिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली विदेश जाँदा ५५ अर्ब ४९ करोड रुपैयाँ विदेशिएको थियो । त्यसमा विद्यार्थीले मात्र ३२ अर्ब २२ करोड रुपैयाँ लगेका थिए ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल घुम्न आउने पर्यटकले यहाँ गर्ने खर्च ८.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । उक्त अवधिमा उनीहरूले १९ अर्ब १९ करोड रुपैयाँ नेपालमा खर्च गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा पर्यटकले नेपालमा १७ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेका थिए ।