काठमाडौं। संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसद्को लागि नयाँ संसद भवन नै प्रयोग हुने जनाएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सरकारसंग निरन्तर सम्वादमा रहेको र सिंहदरबारमै रहेको नयाँ संसद् भवन नै प्रयोग हुने जानकारी दिनुभएको हो।
अहिले नयाँ संसद् भवनबाहेक अन्य विकल्पमा कुनै छलफल नभएको उहाँले बताउनुभयो। नयाँ संसद् भवनमा सभा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू न्यूनतम रूपमा भए पनि प्राप्त हुने संसद् सचिवालयको विश्वास रहेको उहाँको भनाइ छ। प्रवक्ता गिरीले अधिवेशन आह्वान हुनुभन्दा १५र२० दिनअगावै सभा कक्षसहितका आवश्यक पूर्वाधारहरू सचिवालयलाई उपलब्ध हुने उल्लेख गर्नुभयो।
उहाँले नयाँ संसद् भवनमा निर्माण भइरहेको प्रतिनिधिसभातर्फ १२ वटामध्ये बैठक कक्षसहित ६ वटा कक्ष उपलव्ध भएको अवस्थामा बैठक सञ्चालन हुने देखिएको बताउनुभयो।