काठमाडौं। सशस्त्र प्रहरीको हेडक्वार्टरस्थित एमटी (सवारी शाखा)मा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कार्यरत डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको सशस्त्रका प्रवक्ता (डीआईजी) विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार समितिलाई ‘यथाशीघ्र’ छानबिन सकेर प्रतिवेदन बुझाउन भनिएको छ।
बुधवार राति ८ बजेतिर सशस्त्रको प्रधान कार्यालय स्थित एमटी शाखामा आगलागी भएको थियो। बङ्गलामुखी गणबाट गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट केही गाडीहरू जलेका छन्। सशस्त्र प्रहरी प्रधान कार्यालय र सतुंगल स्थित स्टोरमा यसअघि पनि आगलागी भएको थियो ।