काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनास्थलबाट सम्पर्कविहीनहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । यही भदौ १० गते बिहान भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको कारणले १११ मेगावाट क्षमताको सो आयोजनामा कार्यरत रहेका ९३ जना सम्पर्कविहीन भएका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट प्राविधिक तथा विज्ञ टोली मार्फत् रेकी गर्नेलगायत काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार रसुवागढी जलविद्युत् आयोजनामा परेर ९३ जना सम्पर्कविहीन भएको बताइएको छ । इप्पानका अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी छन् । दुईजना ज्यालादारीका कर्मचारी छन् । निर्माणमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना सम्पर्कविहीन छन् । सिडब्लुईका चार, भनस कन्स्ट्रक्सनका तीनसम्पर्कविहीन भइरहेका छन् ।
भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये चारजना दुई दिन लगाएर आफैँ बाहिर निस्कन सफल भएपछि उनीहरूको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।