काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको ३ वटा वडामा बर्डफ्लु पुष्टि भएको छ। नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’को सङ्क्रमण भेटिएको पुष्टि भएको हो।
नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने ‘जुनोटिक’ प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले नगरपालिकाले सङ्क्रमण देखिएका क्षेत्रका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ।
संक्रमणलाई थप फैलिन नदिन र जनस्वास्थ्यको सुरक्षाका लागि नगरपालिकाले व्यावसायिक फार्म सञ्चालकहरूका लागि कडा मापदण्ड सहित निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीद्वारा जारी सूचना अनुसार पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको छ ।