रौतहट। रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एक जना युवतीको शङ्कास्पद मृत्यु भएको छ । माइती पक्षले दाइजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका हुन् ।
कटहरिया ३ बडेरवा टोलमा घर भई हाल कटहरिया ५ बजार क्षेत्रमै घर भएका अरमान राय भाटकी श्रीमती २१ वर्षीया सानीया प्रविनको मृत्यु भएको हो । आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा सानियाको शव भेटिएको प्रहरीले जनाएको छ। घटनाको खबर लगतै ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो ।
मृतककी आमा कायमा खातुनका अनुसार सानीयाको विवाह करिब ६ महिना अघिमात्र अरमान राय भाटसँग मुस्लिम परम्परा अनुसार भएको थियो। विवाहपछि ज्वाइँ अरमानले निरन्तर दाइजोको लागी छोरी सानियालाई अनेक प्रकारको शारीरिक तथा मानसिक यातना दिँदै आएको उनको आरोप छ ।
माइती पक्षले छोरीको हत्या भएको भन्दै ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र कानुनी प्रक्रिया अगाडी बढाइने बताए।