धादिङ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसहितको टोलीले भोटेकोसी बाढीबाट क्षति पुगेका धादिङका विभिन्न स्थानको अनुगमन तथा निरीक्षण गरेको छ। टोलीले गल्छी, गजुरी, सिद्धलेक र बेनिघाट रोराङ गाउँपालिकालगायतका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै बाढीबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था तथा तत्काल आवश्यक राहत र पुनःस्थापनाका विषयमा जानकारी लिएको हो।
अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधि तथा प्रभावित नागरिकसँग भेटघाट गर्दै टोलीले बाढीबाट भएको भौतिक क्षति र स्थानीयस्तरमा देखिएका समस्याबारे जानकारी लिएको थियो। बाढीका कारण सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधारमा पुगेको क्षतिको निरीक्षण गर्दै प्रभावित क्षेत्रको पुनःस्थापना र आवश्यक सहयोगका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको बताइएको छ।
पूर्वमन्त्री तथा नेकपाका नेता राजेन्द्र पाण्डेका अनुसार अनुगमनका क्रममा बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिको वास्तविक स्थिति पत्ता लगाई पीडितहरूको पुनर्स्थापना र राहतका लागि राज्यका तर्फबाट गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कदमहरूबारे सरकारलाई सिफारिस गरिनेछ । टोली भोटेकोशी क्षेत्रसम्म पुगेर थप प्रभावित स्थलहरूको पनि निरीक्षण गर्ने तयारीमा रहेको छ ।
भोटेकोसी बाढीबाट रसुवासहित विभिन्न ६ जिल्लामा ४ खर्ब ८ अर्ब २८ करोड ९१ लाख रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको प्रारम्भिक अध्ययनले देखाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा गरिएको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) अनुसार बाढी प्रभावित क्षेत्र पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
अध्ययनमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन प्रभावित भएको उल्लेख छ। बाढीबाट सामाजिक क्षेत्रमा ६७ अर्ब ८७ करोड, उत्पादन क्षेत्रमा १ खर्ब ५० अर्ब ३७ करोड र पूर्वाधार क्षेत्रमा १ खर्ब ९० अर्ब ४ करोड रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको छ।
बाढीले ७ हजार ५७० निजी घर, ४८ सार्वजनिक भवन र १८ विद्यालयमा क्षति पुर्याएको छ। ७ स्वास्थ्य संस्था तथा ३० सांस्कृतिक र धार्मिकस्थल पनि प्रभावित भएका छन्। यसबाट करिब ८ हजार ३१७ परिवारका ३२ हजार ९६३ मानिस प्रभावित भएको अध्ययनमा उल्लेख छ।
उत्पादनतर्फ १ हजार ८०६ हेक्टर खेतीयोग्य क्षेत्र प्रभावित भएको छ भने पशुपन्छी, माछापालन, बैंक तथा करिब ४ हजार ८०० व्यावसायिक प्रतिष्ठानमा पनि क्षति पुगेको छ पूर्वाधारतर्फ १३ जलविद्युत् आयोजना, ५ सौर्य आयोजना, सडक, पुल, दूरसञ्चार, खानेपानी र सिँचाइ संरचनामा ठूलो क्षति भएको छ। ६९ किलोमिटर सडक, ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुल प्रभावित भएका छन्।
अध्ययनअनुसार बाढी वर्षाका कारण मात्र आएको थिएन। लाङटाङ–लिरुङ क्षेत्रमा हिमनदी तथा चट्टान खस्दा उत्पन्न ठूलो बहाव ल्हेन्दे खोला हुँदै भोटेकोसीमा मिसिएर बाढी आएको निष्कर्ष निकालिएको छ। बाढीको बहाव रसुवागढीसम्म पुग्दा करिब १८८ किलोमिटर प्रतिघण्टा रहेको अनुमान गरिएको छ। बाढीपछि सरकारी निकायले जोखिममा रहेका क्षेत्रमा चेतावनी जारी गर्दै नेपाल टेलिकम र एनसेलमार्फत करिब ६ लाख ७८ हजार एसएमएस पठाएको थियो।