काठमाडौं । बारामा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । दुईजना घाइते छन् । आइतबार (कात्तिक १) बिहान करिब ११ः३० बजे महागढीमाई नगरपालिका–१, हुलाकी राजमार्गस्थित प्लाई फ्याक्ट्री चोकमा बीआर१९जी ९९२१ नम्बरको स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाराको बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको उक्त स्कारपियोले विपरीत दिशाबाट आइरहेको वाग्मती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ का १७ वर्षीय धीरज यादव, सोही मोटरसाइकलमा सवार भोडहाका १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण यादव घाइते भई उपचारका निम्ति एलएस न्युरो अस्पताल पठाइएको थियो । उपचारका क्रममा बिहान ११ः५५ बजे चालक धीरजको मृत्यु भएको हो । अरू दुईजनाको उपचार सोही अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
उक्त स्कारपियो र त्यसका चालक रौतहटको परोहा नगरपालिका–३ का ३८ वर्षीय अरुणकुमार दुबेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।