काठमाडौं । इटालीमा पहिलोपटक सिटी–बेस्ड फ्रेन्चाइज टी–१० क्रिकेट लिग आयोजना हुने भएको छ । नेपाली अन्तर्राष्ट्रिय पूर्वक्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग (ईपीएल)का संस्थापक आमिर अख्तर र इंग्ल्यान्डका पूर्वक्रिकेटर नदिम शाहिदको पहलमा ‘इटालिया टी–१० क्रिकेट’ आयोजना हुन लागेको हो । यी दुई क्रिकेटरले बेलायतमा खोलेको कम्पनी एपेक्स टी–१० लिमिटेडमार्फत प्रतियोगिताको आयोजना हुनेछ ।
इटालियन क्रिकेट महासंघको आधिकारिक समर्थनमा प्रतियोगिताको पहिलो संस्करण अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म रोममा सञ्चालन हुनेछ । प्रतियोगितामा ६ वटा सिटी–बेस्ड फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । टी–१० फर्म्याटमा खेलाइने प्रतियोगितामा एक खेल करिब ९० मिनेटमा सकिनेछ । प्रत्येक टोलीले १० ओभर ब्याटिङ गर्नेछन् । आयोजकका अनुसार प्रतियोगिताका खेलहरू ३० भन्दा बढी देशमा प्रत्यक्ष प्रसारण गरिनेछ ।
नदिम शाहिदले इंग्ल्यान्डमा एसेक्स र सरेका लागि दुई दशकभन्दा बढी समय प्रथम श्रेणी क्रिकेट खेलेका थिए । इंग्ल्यान्ड ‘ए’ टोलीको समेत प्रतिनिधित्व गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य आमिर अख्तरले नेपालमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) स्थापना गरेका थिए । इटालीमा पनि टी–१० फ्रेन्चाइज क्रिकेटमार्फत स्थानीय खेलाडीको विकास र घरेलु क्रिकेटको स्तर उकास्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
इटालियन क्रिकेट महासंघले प्रतियोगितालाई औपचारिक समर्थन गर्दै आईसीसीबाट स्वीकृति लिने प्रक्रियामा समन्वय गरिरहेको जनाएको छ । क्रिकेट सन् २०२८ को लस एन्जलस ओलम्पिकमा पुनरागमन गर्ने तयारीमा रहेका बेला इटालीमा नयाँ फ्रेन्चाइज टी–१० लिगको सुरुआतलाई त्यहाँ क्रिकेटको विकासका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।इटालियन क्रिकेट फेडेरेसनका एक्स्ट्राअर्डिनरी कमिस्नर जियानफ्रान्को राभाले नयाँ प्रतियोगिताले इटालीमा क्रिकेटको व्यवस्थित, व्यावसायिक र दिगो विकासमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
आयोजकले ‘इटालिया टी–१० क्रिकेट’मार्फत इटालीमा क्रिकेटको लोकप्रियता बढाउनुका साथै स्थानीय खेलाडीका लागि नयाँ अवसर सिर्जना गर्ने र घरेलु प्रतियोगिताको स्तर उकास्ने लक्ष्य राखेको छ ।