नयाँदिल्ली । भारतमा इन्डिया गठबन्धनका नेताहरूले सोमबार सर्वोच्च अदालततर्फ मार्च सुरु गरेका छन् । मार्चमा राहुल गान्धी, अखिलेश यादव र तेजस्वी यादवसहित विपक्षी नेताहरू सहभागी छन् । आइसा (एआईएसए) की नेता नेहा बोरा पनि मार्चमा सहभागी भएको बताइएको छ ।
मार्चपछि चुनाव आयोगको विशेष गहन पुनरीक्षण (एसआईआर) र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध याचिका दायर गर्न कार्यक्रम रहेको बताइएको छ । राहुल गान्धीले मार्चअघि करिब ४० मिनेट पत्रकार सम्मेलन गर्दै यसलाई शिवजीको जन्तीको संज्ञा दिएका थिए । उनले मार्चमा जोकोही सहभागी हुन सक्ने बताएका थिए । विभिन्न राज्यबाट कंग्रेस कार्यकर्ता पनि दिल्ली पुगेका छन् ।
आइतबार विपक्षी सांसदहरूले प्रधानन्यायाधीश सूर्या कान्तलाई पत्र लेख्दै ज्ञापनपत्र बुझाउन समय मागेका थिए । तर, प्रधानन्यायाधीशले भेट्न अस्वीकार गर्दै आम नागरिक वा निर्वाचित जनप्रतिनिधिले व्यक्तिगत रूपमा याचिका दर्ता गर्न सक्ने र अदालतले कानुनबमोजिम सुनुवाइ गर्ने बताएका थिए । त्यसपछि राहुल गान्धीसहितका नेताहरू आफैँ याचिका दर्ता गर्न अदालततर्फ अघि बढेका हुन् ।
मार्चलाई ध्यानमा राख्दै दिल्ली मेट्रो रेल कर्पोरेसनले सोमबार बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म छवटा मेट्रो स्टेसनका प्रवेश तथा निकासद्वार बन्द गरेको छ । बन्द गरिएका स्टेसनमा पटेल चोक, जनपथ, राजीव चोक, मन्डी हाउस, सेन्ट्रल सेक्रेटेरियट र बाराखम्बा रोड छन् ।
यसैबीच, ककरोच जनता पार्टीका आशुतोष रांका र सौरव दासले सोमबार संसद मार्ग प्रहरी चौकी पुगेर जन्तर–मन्तरमा शान्तिपूर्ण प्रदर्शनका लागि मिति तोक्न माग गरेका छन् । पार्टीले प्रदर्शनको मिति नदिए पुनः आन्दोलन आह्वान गर्ने चेतावनी दिएको छ ।